इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता


२०८२ फाल्गुण २७ बुधबार ०८:२३ बजे

काठमाडौँ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ। वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ।

मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छिट्टै रोक्दै क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका छन्। रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए।

फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले उपलब्ध गराएको समर्थन तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनसँग टेलिफोनमा कुराकानी भएको बताएका थिए। ट्रम्पका अनुसार उनीहरूबीच इरान युद्ध र रुस–युक्रेन युद्धको अवस्थाबारे छलफल भएको थियो।

ट्रम्पले पुटिनले इरान युद्ध अन्त्य गराउन सहयोग गर्ने प्रस्ताव गरेको बताएका छन्। तर उनले पुटिनलाई रुस–युक्रेन युद्ध अन्त्य गराउन सहयोग गर्न सके त्यो अझ राम्रो हुने बताएका थिए।

ट्रम्पका अनुसार उनले पुटिनलाई भनेका थिए, ‘यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ ।’

फेब्रुअरीको अन्तिम साता अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेताहरू मारिएका थिए। त्यसपछि इरानले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरेको जनाइएको छ।

पुटिनले सोमबार मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता बनेकोमा बधाई दिएका थिए। ट्रम्पले भने इरानका नयाँ नेताप्रति असन्तुष्टि जनाउँदै मोज्तबा खामेनीलाई धेरैले नचिनेको टिप्पणी गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७