मातृकाप्रसाद यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
२५ फागुन, जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा विवादका बीच नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज भएपछि मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने विषय विवादमा परेका बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो।
अन्तिम मतगणना अनुसार यादवले १० हजार ४०३ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२ र नेकपा (एमाले)का रामचन्द्र मण्डलले ९ हजार ३१५ मत प्राप्त गरेका छन्।
यद्यपि यस क्षेत्रमा घण्टी चुनाव चिह्नमा १३ हजारभन्दा बढी मत परेको थियो। तर रास्वपाका उम्मेदवार शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनको मत परिणाम सार्वजनिक गरिएको छैन।
गत फागुन १८ गते निर्वाचन आयोगले शाहको उम्मेदवारी खारेज गरेको थियो। त्यस निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले धनुषा–१ को अन्तिम परिणाम तत्काल सार्वजनिक नगर्न आदेश दिएको थियो।
यसैबीच उम्मेदवारी खारेज भएपछि आफू नै सबैभन्दा बढी मत ल्याउने उम्मेदवार भएको दाबी गर्दै नेकपाका उम्मेदवार यादवले निर्वाचन परिणाम घोषणा गर्न दबाब दिएका थिए। आज उनका पार्टीका नेता तथा कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना समेत दिएका थिए।
.gif)

.png)

