१०९ क्षेत्रको मतगणना जारी, ८१ क्षेत्रमा रास्वपाको अग्रता
काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार भएको मतदानपछि शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १०९ क्षेत्रमा मतगणना जारी रहेको छ ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक स्थानमा जित हासिल गरेको छ भने ८१ क्षेत्रमा अग्रता लिएको छ। नेपाली कांग्रेसले एक स्थानमा जित्दा ६ क्षेत्रमा अगाडि रहेको छ। नेकपा एमाले ८ र नेकपा ८ क्षेत्रमा अग्रता कायम गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी एक, प्रगतिशील लोकतान्त्रिक पार्टी एक, श्रम संस्कृति पार्टी एक तथा स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् ।
झापा–५ मा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत ल्याएका छन्। बालेन्द्र शाह ४ हजार ६ मतले अगाडि छन् ।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाका अमरेश सिंहसँग पछाडि परेका छन्। सिंहले १ हजार २३९ मत पाउँदा थापाले ७६८ मत प्राप्त गरेका छन् ।
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जित नजिक पुगेका छन्। उनले ६ हजार ८२० मत प्राप्त गरेका छन् भने एमालेका लिलामणि गौतमले २ हजार ७५६ मत ल्याएका छन्। प्रचण्ड ४ हजार ६४ मतले अगाडि छन् ।
चितवन–२ मा रास्वपाका सभापति रवि लामिछानेले १० हजार ८२२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी मिना कुमारी खरेलले ३ हजार २२७ मत ल्याएकी छन्। लामिछाने ७ हजार ५९५ मतले अगाडि छन्।
रौतहट–१ मा नेकपाका सहसंयोजक माधव नेपालले ४५४ मत प्राप्त गरेका छन् भने रास्वपाका राजेश कुमार चौधरीले १ हजार ८०७ मत पाएका छन्। प्रारम्भिक मतगणनामा नेपाल १ हजार ३५३ मतले पछाडि परेका छन्।
म्याग्दी–१ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले २ हजार ३९१ मत प्राप्त गरेका छन्। उनी १ हजार २३७ मतले एमालेका हरिकृष्ण श्रेष्ठभन्दा अगाडि छन्।
काठमाडौं–३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ३ हजार ६३६ मतले पछाडि परेका छन्। रास्वपाका राजु पाण्डेले ९ हजार २३ मत पाउँदा घिसिङले ५ हजार ३८७ मत प्राप्त गरेका छन्।
तनहुँ–१ मा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले अग्रता फराकिलो बनाएका छन्। वाग्लेले ४ हजार ९१७ मत पाउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २ हजार १३६ मत ल्याएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि पछाडि परेका छन्। रास्वपाका सहमहामन्त्री विपीन आचार्यले २ हजार ४४३ मत पाउँदा पोखरेलले ५९४ मत प्राप्त गरेका छन्। पोखरेल १ हजार ८४९ मतले पछाडि छन्।
यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रास्वपाका सुलभ खरेलसँग १३ हजार २७१ मतले पछाडि परेका छन्। खरेलले १६ हजार ७८८ मत पाउँदा पौडेलले ३ हजार ५१७ मत प्राप्त गरेका छन्।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये रास्वपा १३ क्षेत्रमा अगाडि छ। एमाले २ र श्रम संस्कृति पार्टी १ क्षेत्रमा अग्रता कायम गरेको छ। बाँकी क्षेत्रमा मतगणना सुरु हुने क्रम जारी छ।
मधेस प्रदेशका ३२ मध्ये मतगणना भएका १८ क्षेत्रमा रास्वपा अगाडि रहेको छ। बागमती प्रदेशका ३३ क्षेत्रमध्ये १९ क्षेत्रमा रास्वपा अगाडि छ भने कांग्रेस र नेकपा एक–एक क्षेत्रमा अगाडि छन्। केही क्षेत्रमा मतगणनाको अद्यावधिक आउन बाँकी छ।
गण्डकी प्रदेशका १८ सिटमध्ये ९ मा रास्वपा अगाडि छ। कांग्रेस, एमाले र स्वतन्त्र उम्मेदवार एक–एक क्षेत्रमा अगाडि छन्। अन्य क्षेत्रको मतगणनाको विवरण आउन बाँकी छ।
लुम्बिनी प्रदेशका २६ क्षेत्रमध्ये १५ क्षेत्रमा रास्वपा अगाडि छ। कांग्रेस, एमाले र नेकपा दुई–दुई क्षेत्रमा अगाडि छन्। कर्णाली प्रदेशका १२ क्षेत्रमा कांग्रेस र नेकपाले दुई–दुई सिटमा अग्रता लिएका छन्। एमाले र राप्रपाले एक–एक सिटमा अग्रता कायम गरेका छन्।
सुदूरपश्चिम प्रदेशका १६ क्षेत्रमध्ये रास्वपाले ५ क्षेत्रमा अग्रता लिएको छ। नेकपा ३ क्षेत्रमा र एमाले एक क्षेत्रमा अगाडि छन्।
.gif)

.png)

