निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनमा कुनै पनि प्रकारको निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याइने बताएका छन् ।
आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका अर्यालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै स्थलगत जानकारी लिए ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका निर्वाचनमा देखिएका कमी–कमजोरी यसपटक दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
‘विगतका निर्वाचनमा भएका गल्ती–कमजोरी यसपटक दोहोरिन दिनुहुँदैन । जे-जति जनशक्ति र स्रोत–साधन उपलब्ध छन्, त्यसको अधिकतम उपयोग गरेर निष्पक्ष, पारदर्शी र विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गर्छौँ,’ उनले भने।
अर्यालले प्रशासनिक संयन्त्र सक्षम, सजग र निष्पक्ष रहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए । भौगोलिक विकटता वा अन्य बहानामा मतदाताको नाममा धाँधली, मृत व्यक्तिको नाममा मतदान वा बूथ कब्जा जस्ता गतिविधि दोहोरिन नदिने उनले स्पष्ट पारे।
निर्वाचन विरोधी गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गरिने जानकारी दिँदै उनले भने, ‘राष्ट्रसेवक होस् वा सर्वसाधारण, मतदाता वा दलका प्रतिनिधि-अवैध गतिविधि गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कानुनको दायरामा ल्याइनेछ।’
गृहमन्त्री अर्यालले सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवालालाई स्वच्छ, स्वस्थ र प्रतिस्पर्धात्मक वातावरण कायम गर्न सहयोग गर्न आग्रह गरे।
निर्वाचन, बझाङ, गृहमन्त्री, सुरक्षा, कानुन
.gif)

.png)

