एनपिएल प्लेअफ : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने
काठमाडौँ : ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ ।
यो जितसँगै विराटनगरले प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै भेट पक्का गरेको हो । सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदा विराटनगरले १० अंकसहित दोस्रो स्थान हासिल गर्यो ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरको जितमा दुई ओपनरले अर्धशतक प्रहार गरे । फाफ डु प्लेसिस २० बलमा ५० र साम हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए । मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए ।
.gif)

.png)

