सामाजिक सुरक्षा प्रणालीलाई सबल बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता


२०८२ मङ्सिर ११ बिहीबार १३:२० बजे

काठमाडौँ : आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली सामाजिक ऐक्यबद्धता, न्याय र राष्ट्रिय उत्पादकत्वको मजबुत आधार भएको उल्लेख गरिन्।

न्याय क्षेत्रमा हासिल अनुभवले सामाजिक न्यायको महत्त्व स्पष्ट गरे पनि सामाजिक सुरक्षाको पूर्णता बिना सामाजिक न्याय पूरा नहुने प्रधानमन्त्रीको धारणा छ । प्रधानमन्त्रीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षीय संयोजनको सफल मोडेल भएको बताइन्। उनका अनुसार यस प्रणालीले हुनेले नहुनेलाई, धनीले गरिबलाई र निरोगीले बिरामीलाई सहयोग गर्ने सामाजिक एकताको सिद्धान्तलाई अघि बढाउँछ।

सामाजिक सुरक्षा प्रणालीलाई एकीकृत, दिगो र सक्षम बनाउन सरकारले तुरुन्तै काम अघि बढाउने प्रधानमन्त्रीले बताइन् । उनका अनुसार औपचारिक क्षेत्रमा अनिवार्य आबद्धता, अनौपचारिक क्षेत्रका श्रमिकका लागि सह–योगदानमा संघीय सरकारको स्पष्ट भूमिका, करार तथा ज्यालादारी सरकारी कर्मचारीलाई कोषमा पूर्ण आबद्ध भएको अनुभूति दिलाउने तथा कोषको रकमलाई न्यायोचित प्रतिफलसहित राष्ट्रिय पुँजी परिचालन गर्ने नीतिलाई प्राथमिकतामा राखिनेछ।

प्रधानमन्त्रीले निजी क्षेत्रलाई श्रमिकको सामाजिक सुरक्षालाई बोझ नभई संस्थाको पहिचानका रूपमा लिन आग्रह गरिन् । उनका अनुसार कोषको बढ्दो रकम राष्ट्र निर्माणका उत्पादनशील क्षेत्रमा लगानी गर्न समयमै तयारी गर्नुपर्छ।

उनले सामाजिक सुरक्षालाई दिगो र सबल बनाउने अभियानमा जुनसुकै पदमा रहे पनि आफ्नो सहयोग रहने प्रतिबद्धता जनाइन्। उनका अनुसार सामाजिक सुरक्षा कोषमार्फत निर्माण हुने आन्तरिक पुँजीले समृद्ध नेपालको आधार मजबुत बनाउनेछ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका मन्त्रीहरू, अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि तथा ट्रेड युनियन र रोजगारदाता महासंघका प्रतिनिधिको उपस्थिति रहेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७