सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ
६ महिनाभित्र आम निर्वाचन

काठमाडाै : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।
गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।
कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पाएको छ। शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा सो जानकारी दिइएको हो।
संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।