प्रिय नेता प्रदीप ज्ञवालीको टिप्पणीमाथि थप टिप्पणी
सूर्य ध्वजाबाहक उम्मेदवार बनेसँगै जनअनुमोदित हाम्रा जनप्रतिनिधि हाकिम हुनुभएको छ । जनसर्वसाधारणको पहुँचबाट टाढा हुनुहुन्छ । कमरेड होइन, माननीयको फुलीले सुशोभित ठान्नुहुन्छ

हिजो (भदौ १७ गते) एउटा कार्यक्रममार्फत नेकपा (एमाले)का उपमहासचिव कमरेड प्रदीपकुमार ज्ञवालीले मनमा बिझेको कुरा गर्नुभएछ ।
केही नेताहरूले पार्टीलाई वडा तहसम्म उभ्याउन र वडा तहका चुनाव जिताउन सक्नुहुन्न, पार्टीका पदाधिकारी हुँ भन्नुहुन्छ … ! साह्रै चित्तबुझ्यो, खुबै चित्तबुझ्यो । पछिल्लो केन्द्रीय कमिटी बैठकमा मेरो एउटा जिकिर पनि यहि थियो ।
नेता प्रदीपकुमार ज्ञवाली यसै पनि मलाई असाध्यै मन पर्ने नेता । राजनीतिकबाहेक प्रगतिशील साहित्यको गहिरो अध्ययन, गहकिलो चिन्तनमनन र वस्तुगत ढंगले लेखन गर्नुहुने मौलिक व्यक्तित्वको धनी र मेरा लागि आदर्श पात्र पनि उहाँ । उहाँले भनेपछि मलाई यसै पनि मन पर्ने नै भयो, उसै पनि मन पर्ने नै भयो । कमरेड आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक लोकापर्ण कार्यक्रममार्फत प्रस्तुत उहाँका विचारले मेरो मन छोयो, मनमा गड्यो ।
उपमहासचिव कमरेड,
तपाईं पहिलो पुस्ताले बनाएको कम्युनिष्ट आन्दोलनको उर्वर ब्याड आज पनि जस्ताको तस्तै छ । यदाकदा अपवादबाहेक ओइलाउन पाएको छैन । नमौलाएको, नफस्टाएको होला तर बिग्रिएको छैन । अर्थात् जमिन बिग्रिएको छैन, बिग्रिएको भनेको जमिनको प्रतिनिधित्व गर्ने कतिपय नेता कार्यकर्ताको जीवनशैली, आचरण, आहार–बिहार मात्र हो । जमिन थेग्ने पार्टी सदस्य र कार्यकर्ताको पंक्तिले एमाले छाडेको छैन, एमालेबाट कहिल्यै विचलित छैन, मौका पाए वा नपाए जरोकिलो उखालेर दायाँबायाँ गर्दैन ।
यो गर्ने सबै एक तहभन्दा माथि उठेको नेता कार्यकर्ताले हो, तपाईं र मैले हो । नेतृत्वको हायहायका बखत अघिपछि देखिए पनि हाम्रो पार्टीलाई हायहायका बखत चाहने र रुचाउने जनमत तल साह्रै धेरै बढी छ, जसले कहिल्यै केही लिएको छैन । तिनलाई हेरेर विमर्श गरौँ भन्ने लाग्छ ।
तपाईले भन्नुभए झैँ सुधार्न यसो पो गर्ने कि !
प्रदीप ज्ञवाली
१.
जबज– एकोहोरो रटान मात्र होइन, गायत्री मन्त्रजस्तो खासखास बेलामा उच्चारण गरे हुने मन्त्र होइन र हामी नेता कार्यकर्ताले अँगालेको आदर्श प्रतिक शब्दोच्चारण मात्र होइन । यसलाई जीवन व्यवस्थापनको आधार बनाऔँ, नेता–कार्यकर्ता आचरण र वृत्तिविकासको शैली बनाऔँ न ! परिणाम शतप्रतिशत प्राप्त हुन्छ । जबजको बहुविधागत पक्षमा आधारित पार्टी बनाऔँ, पार्टी जीवनको लोकतान्त्रीकरणको प्रक्रियामा जबज प्रयोगलाई सिंहावलोकन गर्दै अघि बढौँ त चाहेको परिणाम प्राप्त हुन्छ, हुन्छ ।
२.
नेतृत्व रिझाउन काठमाडौं बस्नुपर्ने, साँझ–बिहान नेतृत्वलाई भेट्नुपर्ने, विलासी र विलासितासँग साटिनुपर्ने, अपरिभाषित जीवन जिउनुपर्ने, जागिर र ठेक्कापट्टाको जिम्मा लिए झैँ हस्याङफस्याङ गर्दै नेताका घरद्वारको सिफारिससहित मन्त्रालय र मन्त्री क्वाटरसम्म धाउने नेता कार्यकर्ताको सङ्ख्या छोट्याउन सके कार्यकर्तालाई जमिनमा आधारित हुन, कमाइ गरिखान, स्थानीय जनमतको दुःखसुखमा सहकार्य गर्न र स्वयंमा दैनन्दिन पारदर्शी जीवन बाँच्न सिकाउँछ । फलस्वरुप आदर्शको ऐनामा उभिएको यो नेता कार्यकर्तालाई नजिकैबाट हेरेर प्राप्त हुने जनमतको जोड परिणामसँगै पार्टी अग्रपंक्तिमा उभिन पुग्छ ।
३.
उल्लेख्य नेता कार्यकर्ता अमुक जिल्ला र प्रदेशको जिम्मेवारी लिएर भूमिकानिर्वाहका बखत टेलिफोनमा मात्र सीमित रहने गर्दछ । जिल्ला र प्रदेशका मिटिङ बैठक भेला प्रशिक्षणमा प्रमुख अतिथि आइपुग्नुपहिल्यै आइपुग्छ र एयरपोर्टमा नेतालाई स्वागत गर्न हतारहतार पुग्छ । योबाहेक अधिकांश समय नेतृत्वका अघिपछि काठमाडौंमा गुजार्छ ।
यत्रो समय जिल्लाबाहिर यो राजधानीमा किन गुज्रियो ? यसले जनसम्पर्क र सम्बन्ध बिस्तार गर्छ ? जनसम्पर्क र सम्बन्ध बिस्तार नै भएन भने जनआधारित संगठन कसरी बन्छ ? भनेर महिनामा एकपटक मात्र प्रायशः काठमाडौँमा भेटिने नेता कार्यकर्तालाई सोधौँ न ! यसबाट कि निजले भूगोलको जिम्मेवारी परित्याग गरेर काठमाडौँ बस्छ र गरिखाने मेलोमेसो गर्छ कि भूगोलमा ओर्लिएर काममा लाग्छ । अनि पो चुनाव जितिन्छ ।
४.
जिम्मेवारी कुनै मातहत कमिटीको छ । यो कुनै खास भूगोलको पनि होइन । कुनै खास भूमिका केही छैन । नियमित आम्दानीको स्रोतका रूपमा कुनै पेसा व्यापार व्यवसाय पनि छैन । बडो ठाँटबाँटका साथ साथी देखिन्छ, जताततै भेटिन्छ । औसत खर्चिलो कफी पसलदेखि साँझको खाना बसाइ तारे होटलसम्म हुने गर्छ । यसको स्रोत के हो ? यसको अर्थ के हो ? पार्टी नेताले यससम्बन्धी अध्ययन गर्ने गरौँ न ! पर्याप्त सोधीखोजी गरौँ न !
तारे होटल त के, अलिक सुकिलोमुकिलो होटलसम्म पुग्ने मेरो ल्याकत छैन । सार्वजनिक ठूला सवारी गाडीबाहेक पठाओ चढ्न सक्दिनँ । तथापि, नेतृत्वको आडमा उभिँदै जाँदा मेरो बसाइ तारे होटलमा, उठाइ ठेक्कापट्टासँग र गाडी हुइँक्याइ औसत महङ्गा हुन्छन् भने मेरोबारेमा समाजले प्रश्न गर्छ गर्दैन ? तपाईंले अध्ययन गर्नुपर्छ कि पर्दैन ? अनि म यसमानेमा गनाएको भ्रष्ट आचरणसहित मानिलाई समाजले पत्याइदिन्छ ? समाजले पत्याइदिए न पार्टी ठूलो बन्छ र वडादेखि संघीय क्षेत्रसम्म जितिन्छ, होइन र ?
५.
एकपटक वडाध्यक्ष के भएको थियो, जीवनमा परिवर्तनको लहर आउन सुरु भयो । वडाध्यक्ष हुँदै गर्दा नेतृत्वलाई रिझाएर मेयर उपमेयरको टिकट ल्याएको, थातबास नै सदरमुकाम सिफ्ट भयो । माननीय त कुरै नगरौँ काठमाडौँमा तले बिल्डिङ जोडियो, गर्दन उठाएर आकाशतिर हेर्नुपर्ने तहको अग्लो अलिसान गगनचुम्बी घर बन्यो । बजारमा झर्नासाथ नयाँ, महंगा र ब्राडिङ गाडीहरू आउन थाल्यो । जनप्रतिनिधि र तिनकै तजबिजीमा नियुक्ति लिएका कार्यकर्ताको हालत उस्तै छ । पास्नीदेखि लिएर विवाहसम्मको भोजभतेरमा हजारमा होइन, अलिअलि अपुग करोडसम्मको खर्च हुन थाल्यो ।
नेतृत्वको यो गैरकम्युनिष्ट जीवनशैली, तड्किलो र भड्किलो दिनचर्या, चार पाङ्ग्रे नगुड्ने ठाउँमा जाँदै नजाने सोखिन यात्रा र यात्रादिमा देखिने भद्दा तामझामलाई समुदायले मन पराउँदैन । यसलाई सर्लक्कै कटाऔँ र घटाऔँ अनि आउँछ वडादेखि माथिल्लो तहसम्म हुने चुनावमा परिणाम !
६.
म अरुका कुरा गर्दिनँ । सूर्य ध्वजाबाहक उम्मेदवार बनेसँगै जनअनुमोदित हाम्रा जनप्रतिनिधि हाकिम हुनुभएको छ । जनसर्वसाधारणको पहुँचबाट टाढा हुनुहुन्छ । कमरेड होइन, माननीयको फुलीले सुशोभित ठान्नुहुन्छ । नामोच्चारण र पार्टी जिम्मेवारीअनुसार प्राप्त पद पुकार्दा मानहानी भएको ठान्नुहुन्छ । शाहीकालका अञ्चलाधीशजस्तो आदेश फर्मान गर्नुहुन्छ । पार्टीद्वारा परिचालित होइन, जनप्रतिनिधिद्वारा पार्टी परिचालन गर्न खोज्नुहुन्छ ।
एकपटक प्राप्त यो जनमतको बलमा उपलब्ध राजकीयसत्ता र सत्ताबाट प्राप्त हुन सक्ने सुखसयल, सेवा र सुविधालाई राजनीतिकसत्ताको दाउपेच भर्नुहुन्छ, लोकलाजले पनि लाज मान्ने तहमा सौदा गर्नुहुन्छ । अर्कोपटक पनि जनमत लिन राम्रो काम गर्नुपर्छ, बेखबर रहनुहुँदैन, पारदर्शी हुनुपर्छजस्ता विषयलाई विराम, अल्पविराम र बिट मार्न उद्दत रहनुहुन्छ ।
कतिपय तहगत सरकारका कतिपय जिम्मेवारहरू डङडङी गनाउनुभएको छ । वर्ग, वर्गप्रेम, गर्वस्नेह, वर्गमुक्ति होइन, परिवार, जात, नश्ल आदिलाई महत्त्व दिनुभएको छ । यसलाई सुधार गरौँ त जनमत एमालेकै पोल्टामा छ, पोखिएर बाहिरफेरक कहीँ पनि जाँदैन ।
७.
सोझै अर्थ वसुल्न सकिने नभएपछि नीति र विधि निर्माणमा भ्रष्टाचार र भ्रष्ट आचरण सामान्य दिनचर्या भएको छ । राजनीतिक संघसंगठन निर्माणदेखि राजकीयसत्ता सञ्चालनसम्म पुग्दा सार्वजनिक महत्त्वका साथ हामीले बोल्या थियो ? आफ्ना प्रतिबद्धताहरूमा के लेख्या थियो ? पूरा गर्नतर्फ प्रयासरत रहँदै गर्दा यसको सिंहावलोकनसहित अद्यावधिक गर्नुपर्छ कि पर्दैन ? राजनीतिक लडाइँ अवसरको बाँडफाँड मात्र हो त ? होइन नि !
तपाई नेतृत्वमाझ लडाएर र जुधाएर फाइदा लिन चाहने तेस्रो शक्तिलाई बेला छँदै पहिचान गरौँ न ! फलानोलाई सेन्टर मानेर काम गर्नुपर्छ भनेर लविङ आरम्भ भएसँगै अहिले नै नेतृत्व लिन तँछाडमछाडको अवस्था विकास भएको छ । यो कसरी आइलाग्यो ? एकाग्रचित्तका साथ ध्यान दिन सकियो भने निर्वाध रूपमा एमाले ठूलो पार्टी बन्छ, दर्बिलो राष्ट्रियशक्ति बन्छ, बन्छ ।
८.
तपाईं नेतृत्वको आँखाले सोझै मलाई हेर्दा अपेक्षाअनुसार पाउन वा नपाउन सक्नुहुन्छ । अरुका आँखाले हेर्दा उसको नजर र नजरिया फरक–फरक पर्न सक्छ । यो पारदर्शी समयले नेतृत्व गरेको प्रविधिसम्पन्न आजको हाम्रो समाजभित्र प्रत्येकले प्रत्येकलाई नजिकैबाट हेरेको छ, केस्रा–केस्रामा नियालेको छ । अपशोच ! हाम्रोमा नेतृत्वले साँझबिहान मौजुद रहन सक्ने अरु कसैको हेराइबाट कार्यकर्तालाई हेर्ने र बुझ्ने गर्नुहुन्छ ।
म प्राप्त र निर्दिष्ट जिम्मेवारीअनुसार भूगोलमा भूगोलको काममा खटिएको छ, जोतिएको छु, काठमाडौँ बसाइँ गर्न आवश्यक ठान्दिनँ । र, सक्दिनँ पनि । यसकारण दैनन्दिन नजिकै रहन सक्दिनँ । तर नेतृत्वले मेरोबारेमा धारणा बनाइसकेको हुन्छ । आफ्ना कुरा राख्न नपाउँदै कर्केनजर, डाँटफट्कार र उछिताको शिकार हुन्छु । कसले गर्छ यो कुकर्म ?!? वास्तवमा यसले पनि नचाहेर परस्पर सम्बन्ध बिग्रिएको छ, अनावश्यक बोझ कसै न कसैले बोक्नुपरेको छ ।
यस्तो कुराको खेती गर्ने कुरौटेको झुण्डबाट नेतृत्व बच्नुपर्छ । बच्न सक्दैन भने एउटा कुरौटे समूह निर्माण गर्नुपर्छ । कुरौटे समूहको अनावश्यक चाकडी र चापलुसीमा आधारित कुराको आदानप्रदान र दोहनले चिरा परेको घाउ सञ्च हुन समय लाग्ने भएको छ । भूमिकाविहीन यो कुरौटे समूहले भूगोलमा पार्टी नेतृत्व र नेतालाई कार्यकर्ताबाट टाढा गर्दैछ । कतिपय बेलामा प्रकट हुने केही शैली र आचरण सुधारमा ल्याउन सकियो भने पार्टी सबैको रोजाइ र खोजाइमा फेरि पनि पहिलो बन्छ, बन्छ ।
९.
कार्यकारी नेतृत्व अमुक व्यक्तिको रह्यो होला ! यसै पनि यो कार्यकर्ताले बचाएको र टिकाएको पार्टी हो । नत्र, नेकपा विभाजनका बखतमै हामी चकनाचुर भइसकेका हुने थियौँ । यसको अर्थ प्रत्येक राजनीतिक कार्यकर्तामा रहेको सम्भावना, सामाजिक छवि, उसले प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई कहाँ प्रयोग गर्ने ? कार्यकर्तालाई कित्ताबन्दी नगरी नेतृत्वले हेर्नु, नियाल्नु र परिचालन गर्नुपर्छ ।
यसो गरियो सबैले अपनत्वबोध गर्न सक्ने पार्टी संगठन बन्छ । र यसले ल्याउने परिणामले एमाले राष्ट्रिय राजनीतिमा च्याम्पियन खेलाडीजस्तो राजनीतिक शक्ति बन्छ । राष्ट्रिय राजनीतिमा एमालेलाई कसैले हल्लाउन नसक्नेखालको अजंग बलियो राष्ट्रशक्ति बनाउने संकल्पका साथ अगाडि बढेका छौँ, योजना बुन्ने र जनमतलाई तुन्ने काममा लागेका छौँ ।
प्रवृत्तिगत हिसावले देखिएका माथिल्ला हानिकारक विषयवस्तुलाई परित्याग नगरेसम्म हामी राष्ट्रिय राजनीतिको मियो भागमा उभिन सक्ने ठूलो पार्टी बन्न सक्छौँ त ! किमार्थ सक्दैनौँ । सुधारौँ, सच्याऔँ र यो अभियानमा उभिएका हामी सबैले सगर्व सहकार्य गरौँ ! हार्दिक शुभेच्छासहित !
- मोरङको पथरीबाट