तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु

बारा । बारामा दुई मोटरसाइकल ठोकिँदा २५ र २८ वर्षका दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको एलएस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ जितपुरसिमरा उपमहानगरपालिका–२ मा बा ९०प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०६–००३ प१७५३ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो ।
बा९०प ६७९४ नम्बर को मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । दुर्घटनामा घाइते हुने भूपेन्द्रको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।