राष्ट्रिय सभा र दुई संसदीय समितिको वैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) अपराह्न १५ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछिन् ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूची अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’का सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’ मा छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ः३० बजे बस्ने जनाइएको छ ।