नेपालको कृषि निर्यातमा सहजीकरण गर्न चीन तयार

काठमाडौं । नेपालले भैंसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसँग आग्रह गरेको छ ।
चीनको भन्सार प्रशासन र कृषि तथा पशुपंक्षी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौँमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाएको छ । बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए ।
नेपालबाट थर्मल रूपमा प्रशोधित भैंसीको मासु र भैंसीको कार्टिलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थ विशेष गरी घ्यू, नौनी, बटर र छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ । त्यस्तै हेलेज साइलेज पशु आहारा निर्यातका लागि पनि द्विपक्षीय बैठकमा नेपालले कुरा राखेको छ ।
नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया, कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन आग्रह गरेको छ । हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत निर्यात हुँदै आएको छ । त्यस्तै हरियो घाँस हेलेज पाँच कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ ।
बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङले चीनले नेपालबाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्त्व दिएको बताए । ‘१०० भन्दा बढी देशबाट यस्ता प्रस्ताव आउने गरे पनि छिमेकी मुलुकको रूपमा हामीले नेपाललाई महत्त्व दिएर प्रयास अघि बढाएका छौं,’ उनले भने । ‘व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन, त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन, सहजीकरण गर्न हामी तयार छौं,’ उपमन्त्री वाङले भने ।
बैठकमा कृषिमन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभूत शर्त खोरेत मुक्त क्षेत्र घोषणालगायतका प्रक्रियादेखि चीनको क्वारेन्टाइन मापदण्ड पूरा गर्न प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही शर्तमा लचकता अपनाइदिन चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।
द्विपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ । बैठकमा मन्त्रालयका तर्फबाट सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा, डा. दीपककुमार खराल र सहसचिव सहभागी थिए भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारी सहभागी थिए । रासस