१७ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा मृत शिशु


२०८२ भदौ ७ शनिबार ०७:१३ बजे

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ को मेल्छाम गाउँमा १७ वर्षीया किशोरीले मृत जुम्ल्याहा शिशु जन्माएकी छन् । मेल्छाम गाउँकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएको मेल्छाम स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले बताए ।

बुढालाई सुत्केरी गराउन धेरै प्रयास गरिए पनि उपकरणको अभावमा आमा सुत्केरी गराउन नसकिएपछि व्यथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्य चौकी लगिएको थियो ।

उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसके हेलिकप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले गर्भवती बुढालाई सुत्केरी गराउन सफल भए पनि मृतावस्थामा जुम्ल्याहा शिशु जन्मिएको स्वास्थ्य चौकी संयोजक बुढाले बताए ।

किशोरी स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । बुढाको घर सोही गाउँपालिका–३ को मेखाला गाउँ भए पनि  अध्ययनका सिलसिलामा माइतीमै बस्दै आएकी छन् । हाल आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले बताए ।

हुम्लासहित कर्णालीका दुर्गम बस्तीका आमाहरूले सुत्केरी व्यथाका कारण अकालमै ज्यान गुमाउनु परेको छ । पछिल्लो केही वर्षयता राष्ट्रपति महिला उत्थानको उद्धार कार्यक्रमले यस्ता महिलाको ज्यान जोगिँदै आएको छ । सानै उमेरमा विवाह गर्नुका कारण पनि हुम्लाका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने र दुःख झेल्दै आउनुपरेको स्वास्थ्यकर्मी बताउँछन् । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७