कृषि विकास बैंक शाखा प्रमुख मृत भेटिए

रुकुम । कृषि विकास बैंक रूकुम पूर्व शाखाका प्रबन्धक शिवशंकर गिरी मृत भेटिएका छन् । सल्यानको बागचौर नगरपालिका–८ घर भएका ५२ वर्षीय गिरी शनिबार अपराह्न आफ्नै क्वार्टरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार गिरी बिहान करिब ११ बजेतिर नुहाएर सुतेका थिए । अपराह्न ४ बजेसम्म पनि नउठेपछि बैंकका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेपछि उनलाई सुतेकै अवस्थामा मृत भेटिएको हो ।
गिरीको क्वार्टरमा बैंकका अन्य तीन कर्मचारी समेत बस्ने गरेका थिए । घटना भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवलाई परिवारको सनाखतपछि पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको डिएसपी यादवले जानकारी दिए ।