कृषि विकास बैंकको नाफामा ‘छलाङ’
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिसम्म तीन अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । प्रतिकूल परिस्थितिका बावजुद पनि कृषि विकास बैंकले कुशल व्यवस्थापन गर्दै आर्थिक वर्ष २०८० ८१ मा महत्वपूर्ण वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति गरेको हो ।
बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७६ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष एक अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढ्दा पनि नाफामा टेवा पुगेको देखिन्छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ अर्ब १९ करोड रहेकोमा गत आर्थिक वर्षमा १० अर्ब १२ करोड रुपैयाँ छ । लोन लस प्रोभिजन एक अर्ब २३ करोड रुपैयाँ छुट्याएको छ ।
बैंकको वितरणयोग्य नाफा दुई अर्ब ६६ करोड रुपैयाँ छ । अर्थात वितरणयोग्य प्रतिशेयर नाफा १७ रुपैयाँ ३७ पैसा छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा छ । यस्तो आम्दानी पहिले ७ रुपैयाँ ४२ पैसा थियो । बैंकको निष्क्रिय कर्जा केही बढेको छ । अघिल्लो आर्थिक वर्ष २.७८ प्रतिशत रहेकोमा यस्तो कर्जा अहिले ३.४४ प्रतिशत छ । प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ रहेको बैंकले असार मसान्तसम्म २ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा प्रवाह १४ प्रतिशत बढेको हो ।

.gif)

.png)

