प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन आज भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज (आइतबार) नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको हो ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।
भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी छ । तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन । विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । असोज १ गते फर्किने छन् ।