रविलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि बहस जारी, छुट्लान् त आज ?


२०८२ श्रावण २६ सोमबार १२:३७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि बहस जारी छ । सुप्रिम सहकारी ठगी मुद्दामा बिगो रकम धरौटी राखेर साधारण तारेखमा रिहा गर्न माग गर्दै दायर गरेको निवेदन आज (सोमबार) रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको हाे । 

लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटी हुने आदेश गरेको थियो । त्यसपछि लामिछाने ७३ निवेदनसहित उच्च अदालत पुगेका थिए । गत वर्ष चैत २२ गते उच्चको आदेशबाट उनी मुद्दा पुर्पक्षका निम्ति थुनामा पुगेका हुन् ।

उनले उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनः ७३ नम्बरको निवेदन दिएका थिए । सर्वोच्चबाट समेत उच्चको आदेश सदर गरिएको थियो । हाल लामिछानेले पुनः जिल्ला अदालतमै सहकारी ऐनको दफा १३१ (क) बमोजिम बिगो तिरेर साधारण तारेख माग गर्दै निवेदन दिएका हुन् ।

लामिछानेले दिएको निवेदनमा उक्त कानुन आफ्नो हकमा आकर्षित नहुने भए पनि बिगोका निम्ति दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेको उल्लेख गरेका छन् । उनले दाबी गरेको दफा १३१(क)को उपदफा २ ले संगठित अपराध, सम्पत्ति शुद्धीकरणसहितका अभियुक्तलाई मिलापत्र गर्न प्रतिबन्ध लगाएको छ । 

निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि इजलासले आदेश गर्नेछ । निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो । साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकको (लामिछाने) को कानुन व्यवसायीबाट दुवै दिन स्थगित भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७