कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीको ‘कब्जा’ मै, अझै पस्न सकेनन् सुरक्षाकर्मी


२०८२ श्रावण २५ आइतबार १३:५३ बजे

कैलाली । एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको कैलाली कारागारमा ३६ घण्टा बित्दा समेत स्थिति सामान्य बन्न सकेको छैन । कैदी बन्दीबीचको झडपपछि कारागार अझै सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन ।

यद्यपि अवस्था भने केहि मत्थर भएको कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले दाबी गरेका छन् । ‘स्थिति हिजो जस्तो छैन । अवस्था सामान्य भइसकेको छ,’ सीडीओ हमालले भने, ‘अहिले कैदीबन्दीहरूले आफन्त र परिवारजनसँग भेटघाट गरिरहनु भएको छ ।’

तर कारागारको भित्री परिसरमा सुरक्षाकर्मी भने पसिनसकेको उनले जानकारी दिएका छन् । ‘कारागारभित्र पहिले मानवअधिकारवादीलगायत सरोकारवालाको टोली गएपछि मात्रै सुरक्षाकर्मी पठाउने हाम्रो तयारी छ,’ उनले भने । 

शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूले कारागारको भित्री भाग पूर्णरूपमा कब्जा गरेका थिए । मूल गेटमा घरेलु हातहतियार र ढुंगामुडा र ग्यास सिलिण्डरसहित कैदीबन्दी बसेपछि सुरक्षाकर्मीहरू भित्र पस्न सकेका थिएनन् । यस्तै कैदीबन्दीहरूले ग्यास सिलिण्डर पड्काएर जेलमै आगो लगाइ दिने धम्की दिइरहेका थिए । सीडीओ हमालले नै कैदीबन्दीहरूले गेटमा प्रेसर कुकर बम लिएर बसेको प्रतिक्रिया दिएका थिए । 

आइतबार उनले अवस्था सामान्य भने पनि कैदी बन्दीहरूको आक्रोश अझै नघटेको स्रोत बताउँछ । आफन्त र मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधिसँग कुरा गर्न चाहे पनि उनीहरूले सुरक्षा निकायलाई ‘इन्टरटेन’ गरेका छैनन् । १५० जनाको क्षमता रहेको कैलाली कारागारमा हाल करिब ७०० कैदीबन्दी छन् । कैदीबन्दीहरूले कारागारको आन्तरिक प्रशासन, व्यवस्थापन सुधार, अवैध आर्थिक चलखेल रोकथाम लगायतका मागसहित साउन १२ गते मानव अधिकार आयोगलाई पत्र बुझाएका थिए ।

५९० कैदीबन्दीको हस्ताक्षरसहितको उक्त पत्रपछि आयोगले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कैलाली कारागारलाई सचेत गराउँदै पत्र पठाएको थियो। त्यसको एक सातापछि लगातार दुई पटक झडप भयो ।

विवादको जड नवीन रावल समूहका सदस्यहरूको सरुवामा देखिएको बताइन्छ । पहिलो चरणमा १३ जनालाई दाङ, बर्दिया र दैलेख पठाइएको थियो । त्यसपछि त्यही समूहका थप सदस्यहरूलाई सरुवा गर्ने तयारी भएपछि नाराबाजी भएको हो । तीन जनालाई पेसी लैजाने भन्दै झुक्क्याएर मकवानपुर पुर्‍याएको पनि उनीहरूको आरोप छ ।

जेलर र सुरक्षा टोली परिवर्तन 
यता कैलाली कारागारमा भएको रक्तपातपूर्ण घटनापछि कारागार विभागले कारागार प्रमुख (जेलर) वसन्त खत्रीलाई जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा जलान्धर भुसाललाई पठाइएको छ । भुसाल शनिबारै धनगढी पुगिसकेको सीडीओ हमालले जानकारी दिएका छन् । 

यस्तै घटनाका बेला कारागारको सुरक्षामा खटिएको टोलीलाई पनि परिवर्तन गरेको सीडीओ हमालले बताए । ‘हिजो नै पूरै टोली बदलिसकिएको छ । त्यसका अतिरिक्त पनि ठुलै सुरक्षा टोली परिचालन गरिएको छ,’ हमालले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७