कैलाली कारागार झडप : अर्का घाइतेलाई पनि रेफरको तयारी, कैदीबन्दीको संख्या यकिन गरिंदै


२०८२ श्रावण २५ आइतबार १६:११ बजे

धनगढी । कैलाली कारागारको झडपका क्रममा घाइते भएका थप अर्का एक कैदीलाई पनि रेफरको  तयारी गरिएको छ । नसाको समस्या भएका एक कैदीलाई रेफर गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

ती बिरामी कैदीलाई काठमाडौं वा नेपालगञ्ज कहाँ रेफर गर्ने भन्नेबारे छलफल भइरहेको छ । उनी सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा उपचाररत छन् । उनलाई स्काई हेलिकप्टरबाट नभइ सामान्य जहाजबाटै उपचारका लागि कैलालीबाट पठाइने पनि उनले जानकारी दिएका छन् । यसअघि हिजो साँझ गम्भीर घाइते एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइएको थियो ।

अहिले कैदीबन्दीको संख्या यकिन गर्नका लागि गणना गर्ने कार्य भइरहेको छ । शनिबार मात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन् । अहिले धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ ।

कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । घटना भएको ३६ घण्टा बित्दा समेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो ।

भित्रको स्थिति तनावग्रस्त भएपछि कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर सोधखोज गरिरहेका छन् । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् । कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन । १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटक–पटक तनाव हुँदै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७