देउवा, ओली र प्रचण्डले सन्यास लिए, म सबै भन्दा खुशी मानिस हुन्थे : गगन थापा
‘राजनीति फोहोर जमेको पोखरी जस्तो भयो, डेलिभरी अड्कियो’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति ‘डेलिभरी’ गर्न नसक्ने ठाउँमा गएर अड्केको टिप्पणी गरेका छन् ।
आज (आइतबार) काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुशी आफू हुने बताए ।
उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नु भयो भने म सबैभन्दा खुशी मानिस हुन्थें । अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरुप्रति । उहाँहरुले नेपालमा ठूलो योगदान गर्नु भएको छ । तर नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ ।’
उनले नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै राजनीति फोहोर जमेको पोखरी जस्तो भएको टिप्पणी गरेका छन् । आफू युवा हुँदादेखि अहिले ५० वर्ष हुनलाग्दा समेत उही पूराना देशको सबै भन्दा ठूलो नेताका रुपमा रहेको भन्दै उनले आपत्ति जनाए । पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथिको नियन्त्रण गर्ने प्रवृत्ति बद्ल्नु पर्ने उनको भनाई छ ।
उनले भने, ‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ । यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ । यस्तो लोकतन्त्रमा काँही हुँदैन । म युवा हुँदै गर्दा पनि देशको सबैभन्दा ठूलो नेता शेरबहादुर देउवा र केपी शर्मा ओली र प्रचण्ड नै । म अहिले ५० वर्ष हुनलाग्दा समेत उहाँहरु नै हुने कुरा लोकतन्त्रमा यस्तो हुँदैन । पार्टीमाथि पहिला कन्ट्रोल र पार्टीमार्फत नेपालको राजनीतिमाथिको जुन नियन्त्रण छ । यो नबदलेसम्म हुँदैन ।’