राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन : अध्यक्ष लिङदेन
‘निर्णय चित्त नबुझे महाधिवेशनबाट नेतृत्वमाथि चुनौति दिनू’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दावी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने जिकिर गरेका छन् । उनले राप्रपा अब कहिल्यै विभाजन नहुने बताए । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेषहरू अझै भए पनि अब त्यो सम्भावना नरहेको उनले दाबी गरेका छन् ।
उनले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताएका छन् । चित्त नबुझेका विषयहरू पार्टीका समितिहरूमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने बताए । पार्टीका समितिहरूमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनको भनाई छ। तर पार्टीको आन्तरिक विषयहरू सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरूमा भ्रम पार्ने जस्ता कामहरू गर्न नहुने उनले बताए ।
उनले असन्तुष्ट पक्षहरूले अध्यक्षले विद्यान विपरीत काम गरेको भन्ने आरोपको खण्डन पनि गरेका छन् । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरू हेरफेर गरिएको उनको भनाइ छ । विधानले अध्यक्षलाई समितिहरू गठन गर्ने, जिम्मेवारीहरू बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीहरू तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उनको भनाई छ ।
यस्तै उनले नेपाल जस्तो भूराजनितिक परिस्थिति भएको देशको लागि अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुने बताएका छन् । राप्रपाले निरन्तर रुपमा राजसंस्थाको लागि आवाज उठाईराखेको भन्दै उनले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताए । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैैको पृष्ठभूमिलाई आधार मान्दा राजसंस्था पुनःस्थापना निकटमा पुगेको उनको दाबी छ ।
उनले राजसंस्था पुनःस्थापना पक्षधरहरू पनि एकजुट हुँदै गएको बताए । गत जेठ १५ गते राजसंस्था पक्षधहरूले कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरू एकठाउँ उभिएको संकेत गरेको उनको दाबी छ । उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिए पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्न आफूहरू सफल भएको उनको भनाई छ ।
उनले पार्टीबाट कसैलाई निष्काशन नगरिएको पनि बताएका छन् । अध्यक्षले मनोनितत गर्न पाउने पदहरूलाई परिवर्तन गर्ने पुरानै परम्परा रहेको पनि उनको दाबी छ । उनले निर्वाचन आयोगमा उजुुरी दिएकाहरूप्रति लक्षित गर्दै पार्टीभित्रको आन्तरिक विवाद हेर्ने निर्वाचन आयोगको कार्य क्षेत्र नै नभएको बताए । राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए ।