‘फोर्स’ गाडीमा प्राविधिक समस्या, व्यवसायी आन्दोलित
सावाँ–ब्याजसहित रकम क्षतिपूर्ति दिन माग

काठमाडौं । आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट खरिद गरिएका ‘फोर्स’ गाडीमा देखिएको प्राविधिक समस्याले आफूहरु समस्यामा परेको भन्दै व्यवसायीहरू आन्दोलित भएका छन् । फोर्स गाडीले ग्यारेन्टीको प्रचार गरेर गाडी किन्न लगाएको तर, अहिले गाडीमा प्राविधिक समस्या देखिएपछि आफूहरु घर न घाटको अवस्थामा पुगेको भन्दै व्यवसायीहरुले राजधानी आएर आफूहरुको पीडा सुनाएका छन् ।
वारेन्टीको समयभन्दा अगावै इन्जिन सिज हुने, गाडीको पावर क्षमता घट्दै जाने अनि चक्का खुस्किएर दुर्घटना हुनेक्रम बढेको बताउँदै व्यवसायीहरुले फोर्स गाडीले वारेन्टी दाबी गर्ने व्यवसायीलाई वर्षौंदेखि झुलाउने र झुक्याउने गर्दा आफूूहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन।
महिनामै इन्जिन सिज, गुड्दा–गुड्दै टायर गायब
घरजग्गा समेत धितो राखेर फोर्सको फोर ह्वील क्रुजर गाडी खरिद गरेका व्यवसायी समस्यामा परेका छन् । फोर्स गाडीबाट पीडितमध्येका एक दिक्तेल रूपाकोट हलेसी दर्शन यातायात प्रालिका महासचिव देवान राई भन्छन्, ‘तीन वर्षको वारेन्टी भनेर बिक्री गरिएका फोर्स गाडीमा एक महिनामै इन्जिन सिज हुने समस्या छ ।’
उनका अनुसार फोर्स गाडी खरिद गरेका देशभरिका यातायात व्यवसायीहरू अहिले समस्यामा रहेको बताए । गुणस्तरहीन गाडीका कारण व्यवसाय डुबेको भन्दै पीडित महासचिव राईले गाडी फिर्ता गर्दै कम्पनीविरुद्ध क्षतिपूर्ति माग गर्दै आए पनि सुनुवाइ नभएको बताए ।
नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्ने ‘फोर्स ट्र्याक्स क्रुजर’ लगायतका गाडीमा ठूला प्राविधिक समस्या देखिएको हो । ११ जेठ २०७३ मा करिब ४० लाखमा नयाँ ‘फोर–ह्वील क्रुजर’ गाडी खरिद गरेका महासचिव देवान राई स्वामित्वको गाडी एक महिनामै इन्जिन सिज भएर बिग्रिएको थियो ।
वारेन्टीका आधारमा मर्मत गरे पनि केही समयमै समस्या दोहोरिएपछि उनले गाडी नै कम्पनीको ग्यारेजमा बुझाएको पनि ८ वर्ष भइसक्यो । तर, हालसम्म पनि कम्पनीले झुलाइ नै रहेको बताउँछन् ।
मर्सिडिज बेन्ज इन्जिन भनेर बिक्री गरिएको गाडीको इन्जिन एक महिनामै बिग्रनु सामान्य नभएको र गाडी पनि आफ्नो नाममा पास भएर नआउँदै गाडी बिग्रिँदा उनले कम्पनीलाई तिरेको रुपैयाँ डुबेको छ ।
राईले भने, ‘गाडी मर्मत गरियो, फेरि बिग्रियो, हामीले गाडी फिर्ता गर्यौं, वारेन्टीका नाममा ठगी भयो ।’ गाडी मर्मतपछि पुनः इन्जिन सिज भएपछि उनले आफैं ३ लाख ५० हजार खर्च गरेर मर्मत गराएको पनि जानकारी दिए बताए । तर, गाडीले फेरि काम नगरेपछि २०७५ मंसिरमा पेप्सीकोलास्थित कम्पनीको ग्यारेजमा गाडी बुझाउँदै तत्कालीन एमडी राजन लम्साल र व्यवस्थापक सन्तोष नेपाललाई जानकारी गराएका थिए । ‘अहिले ६ वर्ष बितिसक्दा पनि गाडी त्यहीँ थन्किएको छ,’ राई भन्छन्, ‘अब म बैंकको ऋण, ब्याजले मानसिक तनावमा छु ।’
महासचिव राईको मात्र होइन फोर्सको गाडी किनेका अधिकांश व्यवसायी अहिले यहि समस्यामा छन् । राई मात्र होइन, सोही गाडीको विश्वासमा अन्य व्यवसायीले समेत ऋण काढेर गाडी किनेका थिए, तर तिनले पनि उस्तै पीडा भोगेका छन् । हस्त राई, जीवन मगर, हरिबहादुर राई, टंक राई, अनन्त श्रेष्ठ, जीवा श्रेष्ठ, मकर राई, महेश तामाङ, किशोर राई, बद्री गौतम, दीपक दाहाललगायतका व्यवसायीहरू गाडीका कारण व्यवसायबाट विस्थापित भएका छन् ।
पटक–पटक टायर पड्किने, सेन्टर रड छुट्ने, इन्जिन कमजोर हुने, पार्टपुर्जा छिटो बिग्रिने समस्या फोर्स गाडीको साझा समस्या हो । दिक्तेल रूपाकोट हलेसी दर्शन यातायात प्रालिका अध्यक्ष हरिबहादुर राईको स्वामित्वमा रहेको गाडी सिन्धुलीमा टायर खुस्किएपछि १३ जना यात्रु घाइते भए । जीवा श्रेष्ठ स्वामित्वको गाडी सुनकोशीमा ठोक्किएको थियो ।
देवान राई भन्छन्, ‘कम्पनीले ३ वर्षको वा ३ लाख किमी वारेन्टी, मर्सिडिज बेन्ज इन्जिन, मजबुत चेसिस, कच्ची सडकमा उत्कृष्ट प्रदर्शनजस्ता आश्वासन दिएको थियो तर ती सबै झुट साबित भए ।’ कम्पनीका तत्कालीन एमडी राजन लम्साल अब पदमा छैनन् । हालका एमडी ध्रुवबहादुर थापाले भने गुनासोको सुनुवाइ नगरेको राईको भनाइ छ ।
नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक धु्रव थापाले भने राईले गाडीले आधिकारिक सर्भिस सेन्टरमा वारेन्टी बमोजिम सर्भिसिङ पनि नगरेको र कम्पनीले सिफारिस गरेको इन्जिन आयल पनि नराखेको पाइएको बताए । बाहिर बनाए पनि र कम्पनीले वारेन्टी नदिने बताए पनि इन्जिन बनाइदिएको र समय–समयमा सुनुवाइ गर्ने गरेको जानकारी दिए ।
गाडीको पूरा भुक्तानी अहिलेसम्म नदिएको र भुक्तानी माग गर्दा ग्यारेजमा छोडेर बिक्री गरेर दिनु भनेर राईले भन्ने गरेको कम्पनीको दाबी छ । गाडीलाई २०–२२ लाखमा किन्न आउँदा २५ लाख भनिदिने र २५ लाखमा किन्न आउँदा २७ लाख दिए मात्र दिने भनेर बिक्री पनि गर्न नदिएको बताए ।
अहिले ६ वर्षसम्म थन्किएपछि क्षतिपूर्ति माग्नु जायज नभएको प्रबन्ध निर्देशक थापाको भनाइ छ । इन्जिनमा समस्या आउनुको कारण टर्बोचार्जरमा आएको समस्या थियो र चालकले सो समस्या देखिए पनि बेवास्ता गरी गाडी चलाउन जारी राख्दा इन्जिन पुरै बिग्रिएको कम्पनीको भनाइ छ ।
खोटाङमा पुल नभएकाले आउन जान गाह्रो थियो र राईले गाडी निरन्तर चलाइ नै राखेको र सर्भिस मापदण्डअनुसार मर्मत नगर्दा गाडीको अवस्था झनै बिग्रिन गएको निरीक्षणमा भेटिएको कम्पनीको भनाइ छ । सो परिस्थितिमा देवान राईसँग केही सर्तहरूमा सहमति गरी बाँकी रकम ३२ लाख ४० हजारमध्ये ५ लाख उधारो रहनेगरी तथा १ लाख दुर्घटना सहायता (च्यारिटी) बापत कट्टा भई, बाँकी २६ लाख ४० हजार रुपैयाँ असुल गरी ८ असार २०७४ मा गाडी राईलाई हस्तान्तरण गरेको कम्पनीले उल्लेख गरेको छ ।
त्यसपछि पनि गाडीले नियमित सर्भिस नगरेको र तत्पश्चात पनि समितिको नाममा तीन थान गाडी खरिद गराई राईले कमिसन बुझेको कम्पनीको दाबी छ । लिखित सम्झौता भएको करिब २ वर्ष र केही महिनापछि २०७६ साल मंसिरमा गाडी उनका चालकले वर्कसपमा ल्याई छोडेको र राई पनि सम्पर्कविहीन भएको कम्पनीको भनाइ छ । प्रबन्ध निर्देशक थापाले अहिले ४ हजारभन्दा बढी फोर्स ट्र्याक्स क्रुजर कुदिरहेको र समस्या नआएको अनि एक–दुईवटामा बाइप्रडक्ट डिफेक्ट आउनु सामान्य रहेको बताएका छन् ।