लेखराजले गरे प्रधानमन्त्रीको प्रशंसा : महाकालीबाट मेची किनार देख्नु हुन्छ

धनगढी । सत्तारुढ नेकपा एमाले सुदूरपश्चिम इचार्ज तथा सचिव लेखराज भट्टले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै नेतृत्वलाई छिटो बुझ्न कठिन हुने टिप्पणी गरेका छन् ।
प्रेस चौतरी नेपाल सुदरपश्चिम प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने बताए । ‘नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो । ओली ज्यूलाई छोटो समयमा पढ्न सकिँदैन । म पनि उहाँलाई पढ्दैछु’, उनले भने ।
उनले ओलीलाई बुझ्न अध्ययन, अनुसन्धान गर्नुपर्ने समेत बताएका छन् । ‘उहाँ कतिखेर के कदम चाल्नु हुन्छ भन्ने हामीले बुझ्न सक्दैनौं, चालेपछि बल्ल थाहा हुन्छ । एउटा संघर्ष, इतिहास निर्माणबाट आउनु भएको छ ।’
नेकपाकालको अन्तरसंघर्षमा ओलीलाई कारबाही गरिसकेपछि अब पार्टी बन्छ त ? भन्ने प्रश्नबीच पार्टी बन्छ भन्ने आत्मविश्वास साथ आफूले ओलीलाई साथ दिएको भट्टले बताएका छन् । उनले ओलीको सोच विशाल रहेको दावी गर्दै भने, ‘महाकाली किनारबाट उहाँले मेची किनार देख्नु हुन्छ । म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म । त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ ।’