मुख्यमन्त्री नियुक्त भएको हप्ता दिनमै विश्वासको मत लिंदै बानियाँ

मकवानपुर । मुख्यमन्त्री नियुक्त भएको हप्ता दिनमै बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् ।
एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका बानियाँले संवैधानिक प्रावधानअनुसार तोकिएको समयभित्र विश्वासको मत लिने तयारी गरेका हुन् । गत साउन २० मा नेपालको संविधानको दफा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअनुसार उनले साउन २७ का लागि प्रदेश सभा बैठक बोलाउन सभामुख भुवनकुमार पाठकलाई जानकारी गराइसकेका छन् । सभामुख पाठकले औपचारिक पत्र प्राप्त भएपछि बैठकको समय निर्धारण हुने बताएका छन् ।
कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले आफ्नै दलका तत्कालीन नेता बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै दल नेतामा विजयी भएका थिए । त्यसपछि दलको दबाबमा लामा मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य बनेका थिए ।
साउन २० मा सत्ता सम्हालेका बानियाँले साउन १२ मा एक विना विभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ मन्त्रीलाई मन्त्रिपरिषद्मा समावेश गरेका छन् । बागमती प्रदेशमा १४ मन्त्रालयमध्ये गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाउने सहमति भए पनि हालसम्म ६ मन्त्रालयको जिम्मा बानियाँकै काँधमा रहेको छ । विश्वासको मत प्राप्त गरेपछि मात्रै सरकारले पूर्णता पाउने अपेक्षा गरिएको छ ।