कर्णालीको सत्ता गठबन्धनमा ‘खटपट’, सरकारको कार्यक्रम कांग्रेसद्वारा बहिष्कार

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच खटपट देखिएको छ । सत्ता साझेदार दल र सरकारबीचको आन्तरिक किचलोका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको एक महत्वपूर्ण कार्यक्रम बीचमै स्थगित हुन पुगेको छ । सरकारको कार्यक्रम नेपाली कांग्रेसले बहिष्कार गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधि निर्माणका लागि प्रदेश सभा सदस्यहरूसँग सुझाव लिन शुक्रबार बिहान वीरेन्द्रनगरस्थित होटल सिद्धार्थमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम सुरु हुनुअघि नै दुई दलबीच लफडा सुरु भएपछि कार्यक्रम नै सञ्चालन हुन नसकेको कार्यक्रममा सहभागी हुन पुगेका माओवादी सांसद विन्दमान विष्टले जानकारी दिए ।
एमालेका एक सांसदका अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेसकै अवरोधका कारण सुरु हुनै नपाई स्थगित भएको हो । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल एमालेले सरकारले सत्ता साझेदार दलहरूलाई नै सहयोग र सम्मान नगरेको भन्दै कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएको थियो । सरकारले सत्ता साझेदार दललाई नै बेवास्ता गरेपछि यस्ता कार्यक्रम गर्नुको के अर्थ ? भन्दै कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएका थिए ।
सभामुख, सबै दलका प्रतिनिधि र सांसदहरूको उपस्थितिमा कार्यक्रम गर्न लागिएको थियो । तर, बिहीबार एमाले संसदीय दलको बैठकले सत्तारुढ दल कांग्रेसको भूमिका गठबन्धनको संस्कृति अनुरूप नभएको भन्दै निष्कर्ष निकालेपछि कांग्रेसले रुष्ट बनेको हो । कांग्रेसका अर्का एक सांसदले पनि आफू कार्यक्रमस्थलमा पुग्ने वेला विवाद भएको र अहिले कोठामा फर्किसकेको बताएका छन्।
बिहीबार बिहान नेकपा एमाले दसंसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री यामलाल कँडलेको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस संयुक्त सरकारको मर्मअनुसार नचलेको निष्कर्ष निकालेको थियो । उक्त बैठकले केन्द्रीय सरकार निर्माण गर्दा दुई पार्टीबीच भएको सम्झौताअनुसार सरकार निर्माण गर्दा पनि कर्णालीमा नेपाली कांग्रेसले सरकार सञ्चालनमा धोका दिँदै आएको अरोप लगाएको थियो।
उक्त बैठकको निर्णयले पनि नेपाली कांग्रेसले एमालेमाथि निहु खोज्न सजिलो भएको छ । यसअघि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सभा बैठकमा बारम्बार सरकार छोड्ने, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर थापालाई बखास्त गर्नुपर्ने धम्की दिँदै आएका थिए । तर, अहिले नीतिगत कुरामा सत्ता साझेदार नेपाली कांग्रेसले एमालेलाई असहयोग गर्दै आएको छ ।