राजावादी प्रदर्शन : थुनामा रहेका थप तीन जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षमा थुनामा रहेका दुर्गा प्रसाईसहित चार जनालाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
बैंकिङ कसुरमा २५ लाखमा छोड्न अदालतले आदेश दिएकोमा आपराधिक उपद्रबको मुद्दामा भने तीन लाख धरौटीमा छोड्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
प्रसाई बाहेक अरुलाई भने ५० हजारदेखि १० हजारसम्म धरौटीमा छोड्न आदेश दिएको छ । जसमा सुशील बराल र तारा राजवादी भन्ने सरोज गौतमलाई ५०–५० हजारमा छोड्न आदेश दिएको छ । यस्तै दण्डपाणी रेग्मीलाई १० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
प्रसाईको हकमा उल्लेखित आधार र कारण साथै प्रसाईविरुद्ध लगाइएको अभिगोग दावी बमोजिमको आपराधिक उपद्रबको घटनामा उनको उपस्थिति र उनले प्रत्यक्ष रुपमा उक्त कार्य गराउन लगाए वा अह्राएको भन्ने विश्वासयोग्य प्रमाण पेश हुन नसकेको भन्दै धरौटीमा छोड्न आदेश दिएको हो ।
त्योबाहेक बरालको हकमा मुद्दामा लगाइएको अभियोग दावीमा गाडी तोडफोडको घटनामा उनको उपस्थिति भएको भनी उनले मौकाको बयानमा खुलाएकोमा उक्त घटना सुरक्षाकर्मी उपस्थित हुँदाहुँदै विशेष परिस्थितिबस भएको अवस्थामा विवेचित आधार र कारण समेतबाट उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्नेगरी जिल्ला अदालतबाट भएको आदेश नमिलेको भन्दै बदर गरिएको आदेशमा भनिएको छ ।
गौतम र रेग्मीको हकमा अभियोग दावी मृतक सुरेश रजकको लाश भेटिएको घरमा प्रवेश गरी आगो लागेको स्थानमा उपस्थित रहेको भनी उनले मौकाको बयानमा खुलाएकोमा उक्त घटना सुरक्षाकर्मी उपस्थिति हुँदाँहुँदै विशेष परिस्थितिबस भएको देखिएको र विवेचित आधार र कारण समेतबाट उनलाई पुर्पक्षका लागि थुरानामा राख्ने गरी अदालतबाट भएको आदेश पनि नमिलेको भन्दै जिल्ला अदालतको आदेश बदर गरिएको उल्लेख छ ।
राजसंस्थाको पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनले हिंसात्मक रुप लिँदा सबिन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । कम्तीमा १९ जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौं घाइते भएका थिए ।
घटनापछि प्रहरीले आन्दोलनका नेतृत्व गरेकाहरुलाई पक्राउ गरिएको थियो । दुर्गा प्रसाई भागेर भारत पुगेका थिए । प्रहरीले उनले त्यहीँबाट पक्राउ गरेर ल्याएर राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुर गरेको आरोपमा अनुसन्धान थालेको थियो ।