दुर्गा प्रसाईबारे अदालत : आपराधिक उपद्रवमा संलग्न विश्वासिलो प्रमाण भेटिएन

प्रसाईसँग अदालतले माग्यो २८ लाख धरौटी


२०८२ श्रावण १९ सोमबार २०:१५ बजे

काठमाडौं । उच्च अदालत पाटनले गत चैत १५ को तीनकुने आन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाई आपराधिक उपद्रवमा संलग्न भएको विश्वासिलो प्रमाण नभेटिएको जनाएको छ ।

न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङले उनलाई तीन लाख धरौटीमा छोड्ने आदेश गरेका छन् । यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईलाई आपराधिक उपद्रवको मुद्दामा थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त आदेश आज उच्च अदालतले उल्टाएको हो ।

अदालतले भनेको छ, ‘....निज अभियोग दावी बमोजिमको आपराधिक उपद्रवको घटनामा निजको उपस्थिति र निजले प्रत्यक्षरुपमा सो कार्य गराउन लगाए, अह्राएको भन्ने विश्वासयोग्य प्रमाण पेश हुन सकेको देखिँदैन ।’ उच्च अदालतले गत २०८२ जेठ २९ मा जिल्ला अदालतले गरेको आदेश नमिलेको भन्दै बदर भएको जनाएको छ ।

तथापि, प्रसाईं समेतले आयोजना गरेको कार्यक्रमको शिलशिलामा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति भएको तथ्य, उनी क्यान्सर पीडित रहेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको तथा समानताको सिद्धान्तलाई विचार गरी तीन लाख रुपैयाँ धरौटी लिन इजलासले भनेको छ ।

दुई मुद्दामा प्रसाईंसँग मागियो २८ लाख धरौटी
उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई फरकफरक मुद्दामा २८ लाख धरौटी माग गरेको छ ।  उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी माग गरेको हो भने जिल्लाको आदेशविरुद्धको निवेदनमा ३ लाख धरौटी माग गरेको हो । 

उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले तीन लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो । यस्तै बैंकिङ कसुर मुद्दामा भने न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको आदेशले २५ लाख धरौटी माग गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रसाईमाथि आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यस्तै उनीविरुद्ध बैंकिङ कसुरमा समेत मुद्दा थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७