मुख्यमन्त्री लामाले भ्याए आजै राजीनामा दिने


२०८२ श्रावण १६ शुक्रबार १२:३३ बजे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि लामा राजीनामा दिन तयार भएका हुन् । सभापति देउवाले पनि उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

लामाले आजै वा भोलि हेटौँडा फर्किएर राजीनामा दिने भएका हुन् । लामाले राजीनामा दिनुअघि पत्रकार सम्मेलन गर्ने निकटस्थहरूले जानकारी दिएका छन् । बागमतीमा इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी कांग्रेसको छ । शुक्रबार (आज) आफू निकट सांसदहरूको सल्लाहमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गरेको सांसद तीर्थ लामाले जानकारी दिए ।

उनका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।  पार्टीको शीर्ष तहको निर्देशन मान्नुको विकल्प नभएको भन्दै मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेको सांसद तीर्थ लामाले बताए ।

‘संसदीय दलको नेतामा पराजित भएपछि र त्यसमा पनि पार्टी सभापतिले नै राजीनामा दिन निर्देशन दिँदादिँदै आफ्नै सुरमा लाग्नु हुन्न भन्ने सल्लाह भयो’, सांसद लामाले सुनाए, ‘मुख्यमन्त्री ज्यूले भ्याए आजै, आज नभ्याए भोलि हेटौँडा पुगेर पत्रकार सम्मेलन गर्ने र राजीनामा दिने तयारीमा जुट्नु भएको छ । मार्गप्रशस्त गर्न उहाँ तयार हुनुहुन्छ ।’

हाल मुख्यमन्त्री लामा प्रदेश सांसदहरूसहित काठमाडौँमा छन् । बागमती प्रदेश सभामा ३७ सिट रहेको कांग्रेसको संसदीय दलमा गत शुक्रबार त्यसबेला दल नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि नयाँ दल नेता चयनका लागि बुधबार भएको चुनावमा लामालाई हराउँदै इन्द्रबहादुर बानियाँ विजयी भए । यसपछि मकवानपुरका बानियाँले नुवाकोटमा लामालाई मुख्यमन्त्री पद छाड्न दबाब दिइरहेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७