अब ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आयो : ह्वाइट हाउस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सचिवालयले अब उनलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको दावी गरेको छ । ह्वाट हाउसकी प्रेस सचिव क्यारोलिन लेबिनले ट्रम्प राष्ट्रपति बनेको छोटो समयमा ६ वटा युद्ध र संघर्षविराम गराएको भन्दै अब नोबेल शान्ति पुरस्कार दिने बेला आएको बताएकी हुन् ।
प्रेस ब्रिफिङका क्रममा उनले शुक्रवार ह्वाइट हाउसमा बोल्दै इजरायल र इरान, भारत पाकिस्तान, थाइल्याण्ड कम्बोडिया, सर्सिया तथा कोसोबोलगायतका देशको युद्ध ट्रम्पले रोक्न सफल भएका बताइन् ।
उनले भनिन्–यसको मतलब राष्ट्रपति ट्रम्पले ६ महिनाको बीचमा औसतमा हरेक एक महिनामा एउटा शान्ति सम्झौता वा संघर्षविराम गराएका छन् । अब समय आएको छ कि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री शहनाबज सरिफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरिसकेका छन् ।