नेपालीहरुको ‘टीपीएस’ खारेजी तत्काललाई स्थगित


२०८२ श्रावण १६ शुक्रबार ११:१७ बजे
फाइल फोटो

काठमाडौं । संयुक्त राज्य अमेरिका सरकारले यही अगस्ट ५ देखि नेपाली नागरिकका लागि दिइएको अस्थायी सुरक्षा स्थिति (टीपीएस) खारेजीको निर्णयलाई त्यहाँको एक अदालतले आगामी नोभरम्बर १८ सम्मका लागि स्थगित गरेको छ ।

टीपीएस खारेजीबिरुद्ध नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको संघीय अदालतमा परेको रिटमा मंगलबार भएको सुनुवाईपछि निर्णय बिहिबार अदालतले नेपालीको टीपीएस आगामी नोभेम्बर १८ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

अदालतलले यस मुद्दालाई उच्च प्राथमिकतामा राख्दै चरणबद्ध सुनुवाई गर्ने र नोभेम्बर १८ मा हुने सुनुवाईपछि टीपीएस खारेजी स्थगन वा थपिनसक्ने निर्णयमा उल्लेख छ । सो निर्णयले तत्कालका लागि नेपालीको टीपीएस अब कम्तीमा नोभेम्बर १८ सम्मका लागि जोगिएको छ । अमेरिकामा यो सुविधा लिइरहेका करिब ७ हजार नेपाली छन् । त्यसैगरी ५१ हजार होन्डुरन र ३ हजार निकारागुआनले पनि यो सुविधा लिएको एपीले उल्लेख गरेको छ ।

अदालतले अगस्ट १४, २०२५ लाई प्रारम्भिक मुद्दा व्यवस्थापन सम्मेलनको लागि सुरक्षित राखेको छ भने अक्टोबर ९, २०२५ लाई थप मुद्दा व्यवस्थापन सम्मेलनको रूपमा र नोभेम्बर १८, २०२५ को दिउँसो २ बजे प्रारम्भिक निषेधाज्ञा सुनुवाइको लागि सुरक्षित राखेको छ । नेशनल टीपीएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। यो मुद्दाले होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिएको छ ।

टीपीएस खारेजीको निर्णयबिरुद्ध मुद्दा दायरकर्ताहरुले प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घन, जातीय द्वेषका कारण संवैधानिक उल्लङ्घन, र पर्याप्त संक्रमण अवधिको प्रावधानमा असफलताको आरोप लगाएका छन् ।

मंगलबारको सुनुवाइमा न्यायाधीश त्रिना एल थम्पसनले मुद्दाको महत्त्वलाई जोड दिँदै वकिलहरूलाई विस्तृत तयारी सुनिश्चित गर्न अग्रिम प्रश्नहरू उपलब्ध गराएको बताएका थिए । उनले आफूले समीक्षा गरेको जानकारीको विशालतालाई स्वीकार गर्दै आफूलाई पचाउनको लागि धेरै जानकारी भएको र आफूले रातभरि समेत नसुतेर त्यसलाई अध्ययन गरेको बताएकी थिइन् । उनले पक्षहरूलाई देशअनुसार सामग्रीहरू व्यवस्थित गरेकोमा धन्यवाद दिएकी थिइन् ।

न्यायाधीश थम्पसनले होन्डुरस, नेपाल र निकारागुआका टीपीएसवाहकहरू कानुन पालन गर्ने व्यक्तिहरू रहेको र कसैले पनि अपराध नगरेको उल्लेख गर्दै भनिन्, ‘कसैले पनि अपराध गरेका छैनन्। यी यस्ता व्यक्तिहरू हुन् जो विपत्तिको चपेटामा अमेरिकाको खुल्ला हातमा आएका थिए ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७