सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हृदयेन्द्र शाहको जुम्ला ‘भ्लग’ मा के छ ?
कर्णालीकी छोरी पञ्चकलीकोे हृदयेन्द्रलाई प्रश्न : नेपाल समृद्ध कहिले हुन्छ होला ?

काठमाडौँ । पूर्व नव युवराज हृदयेन्द्र वीरविक्रम शाहको एउटा ‘भ्लग’ भिडियोको अहिले सामाजिक सञ्जालहरुमा चर्चा भइरहेको छ । हिजो सार्वजनिक भएको उक्त भ्लगको अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्चासहित शेयर समेत गरिरहेका छन् ।
ह्दयेन्द्र हिजो २२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरे । उनले जन्मदिनको उत्सव तामझामले मनाएनन् । कुनै तस्वीर–भिडिओ सार्वजनिक गरेनन् । तर, आफ्नो जुम्ला यात्राको भ्लग सार्वजनिक गरे । Hri BB Shah नामको फेसबुक आइडीमा उनको भिडिओ हिजो अपलोड भएको छ । भिडिओलाई धेरैले रुचाइएका छन् ।
नेपालका धेरै सुन्दर गन्तव्यहरूमध्ये एक हो, कर्णाली प्रदेशको जुम्ला । जुन जिल्लाले हालै एक ‘विशेष’ पाहुनालाई स्वागत गर्यो । पूर्व नव युवराज हृदयेन्द्र शाह जुम्लामा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक रीतिरिवाज र स्थानीय जीवनशैली साक्षात्कार गर्दै रुचीसाथ त्यहाँका बारेमा जानकारी लिएका छन् ।
हृदयेन्द्रको यात्रा तिला नदीको किनारबाट सुरु हुन्छ, जुन कर्णाली नदीको एक प्रमुख सहायक नदी हो । शान्त र सुन्दर नदीको किनारमा बसेर उनले भने, ‘आज म जुम्लामा छु, जुन कर्णालीमा पर्छ । नेपालमा घुम्नका लागि धेरै ठाउँहरू छन् र यो तीमध्ये एक हो ।’
यात्राका क्रममा हृदयेन्द्रले स्थानीयवासीहरूसँग खुलेर घुलमिल र भलाकुसारी गरेका छन् । एक स्थानीय युवाले उनलाई जुम्लाको महत्वबारे बताउँदै भने, ‘नेपाली भाषाको जन्मस्थान सिञ्जा यहीँ पर्छ । जुम्ला अर्गानिक स्याउ र मार्सी चामलका लागि विश्व प्रसिद्ध छ।’ उनले रारा र शे–फोक्सुन्डो ताल जस्ता पर्यटकीयस्थलको प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा विकासमा पछि परेको यथार्थ सुनाएका छन् ।
हृदयेन्द्रले स्याउ फार्मको पनि भ्रमण गरे, जहाँ उनले २०२४ सालमा स्थापना भएको उक्त फार्मले काश्मीर र हिमाचलबाट स्याउका बिरुवा ल्याएर कर्णालीभरि स्याउ खेती फैलाउन महत्वपूर्ण भूमिका खेलेको विषय थाहा पाए ।
जुम्ला बजारमा घुम्दै गर्दा हृदयेन्द्र एक कफी पसल, ‘ब्ल्याक स्टोन बेकरी’मा पुगे ।
त्यहाँ उनको भेट काठमाडौँबाट फर्केर ८ वर्षदेखि जुम्लामा बेकरी चलाइरहेका एक युवा उद्यमीसँग भयो । दुर्गम ठाउँमा पनि आफ्नै सीप र लगानीले केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका ती युवाको कथा सुनेर हृदयेन्द्र प्रभावित भए । ती युवाले आफैले बनाएको चिजकेक चखाउँदा हृदयेन्द्रको अनुहारमा खुशी देख्न सकिन्छ ।
उनको यात्रा कर्णाली प्राविधिक शिक्षालयसम्म पनि पुग्यो, जहाँ उनले विद्यार्थीहरूसँग भलाकुसारी गरे । सिभिल इन्जिनियरिङ पढिरहेका एक विद्यार्थीले भने, ‘यो कलेजले उत्पादन गरेका जनशक्तिले सजिलै सरकारी जागिर पाउँछन्।’ यसले जुम्लामा शिक्षा र रोजगारीको आशा कसरी जीवित छ भन्ने देखाउँछ ।
हृदयेन्द्र डाँडामा रहेको बौद्ध गुम्बामा पनि पुगे, जहाँबाट पूरै जुम्ला उपत्यकाको मनमोहक दृश्य देख्न सकिन्थ्यो । त्यहीँ उनको भेट स्थानीय युवती पञ्चकली बुढासँग भयो । उनले हृदयेन्द्रलाई स्वागत गर्दै जुम्लाको मौलिक गीत गाइन्, जसको शब्दमा जुम्लाको धान र कर्णालीको दुःखको कथा लुकेको थियो ।
जुम्लाकी छोरी पञ्चकलीसँग ह्दयेन्द्रको लामो कुराकानी भएको छ । कुराकानीकै क्रममा पञ्चकलीले नेपाल समृद्ध कहिले होला ? भनेर ह्दयेन्द्रलाई जिज्ञासा समेत राखेकी छन् ।
भिडियो शेयर गर्दै हृदयेन्द्रले पनि फेसबुकमा लेखेका छन्, ‘प्राकृतिक सौन्दर्यले भरिएको जुम्लाको कुना–कन्दरामा पाइला टेकेँ, जहाँ सरल तर आत्मीय मानिसहरूको मायाले मन छोयो । यो यात्रा केवल स्थानको मात्र होइन, भावना, संस्कार र नेपालीपनको गहिरो अनुभव थियो । जुम्ला, तिमीले देखाएको न्यानो मायाको लागि धन्यवाद ।’
हृदयन्द्र जुम्लामै रहेको कर्णाली प्राविधिक शिक्षालयको भ्रमणमा पनि गएका थिए । यो शिक्षालय हृदयन्द्रका जिजुबुवा स्व. राजा महेन्द्रले २०३७ सालमा स्थापना गरेका हुन् । त्यहाँ सिभिल इन्जिनियरिङ पढिरहेका उपाध्याय थरका युवकसँग पनि हृदयन्द्रको साक्षात्कार भएको थियो ।
उपाध्यायले हृदयन्द्रलाई शिक्षालयको भ्रमण गराउँदै सबै जानकारीहरु दिए । पूर्व नव युवराज हृदयन्द्र गत जेठ महिनामा आफ्नी आमा हिमानीसँग जुम्लाको भ्रमणमा गएका थिए । अमेरिकामा बसेर पढिरहेका उनी छुट्टिमा नेपाल आउँदा यो भ्रमणको चाँजो मिलेको हो । भ्रमणका केही गतिविधि हृदयन्द्रले आफ्नो भिडिओमा समेटेका छन् ।