बिपीको चिन्तन आधुनिक नेपालको मार्गदर्शन : सभापति देउवा


२०८२ श्रावण ६ मंगलबार ११:४२ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् ।

कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज यहाँ बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तक्र्रियामा उहाँले बिपीको मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको बताए ।

सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गरे । ‘वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बिपीको सन्देश आजपनि उत्तिकै सान्दर्भिक छ’, सभापति देउवाले भने ।

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा बिपीको दृढ मत भएको उनको भनाई छ । उनले बिपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गरे । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याएको सभापति देउवाले बताए ।

बिपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको उनको भनाइ छ । उनले बिपी कोइराला सँधै आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्नेमा अडिग नेता भएको बताए ।

देउवाले भारत निर्वासनमा रहेर तत्कालिन निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठ वटा ज्यान मुद्दा हुँदाहुँदै बिपी नेपाल फर्किएको स्मरण गरे । बिपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यताले नै नेपाली कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७