भारतका उपराष्ट्रपति धनखडले किन दिए राजीनामा ?

काठमाडौं । कार्यकाल सकिन दुुई वर्ष बाँकी रहँदै भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उपराष्ट्रपति धनखडले सोमबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा दिएका हुन् ।
सञ्चारमाध्यमका अनुसार ७४ वर्षीय धनखडको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो । उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन् । ‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’
राजीनामा पत्रमा उनले लेखेका छन्, ‘संसद्का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ। यस महत्वपूर्ण अवधिमा भारतको उल्लेखनीय आर्थिक प्रगति र अभूतपूर्व घातीय विकासको साक्षी हुनु र यसमा भाग लिनु मेरो लागि सौभाग्य र सन्तुष्टि हो । हाम्रो राष्ट्रको इतिहासको यस परिवर्तनकारी युगमा सेवा गर्नु साँचो सम्मान हो । यो सम्मानित पद छोड्दै गर्दा, म भारतको विश्वव्यापी उदय र असाधारण उपलब्धिहरूमा गर्वले भरिएको छु र यसको उज्ज्वल भविष्यमा अटल विश्वास राख्छु ।’
उनले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सहयोग र सौहार्दपूर्ण सम्बन्धको लागि धन्यवाद भनेका छन् ।