भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो


२०८२ श्रावण २ शुक्रबार ०७:३७ बजे

चितवन । भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी दुवै बढाएको छ । पुँजीगत खर्च  र राजस्व संकलन दुवै बढेको हो । महानगरपालिकाले गत आवमा रु एक अर्ब ३६ करोड ६८ लाख ६१ हजार राजस्व संकलन गरेको छ । जुन अघिल्लो आवको भन्दा रु पाँच करोड ७६ लाख ९६ हजार बढी हो ।

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले रु एक अर्ब ८० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिँदा मालपोत कार्यालयबाट रु ७८ करोड राजस्व संकलन हुने अनुमान गरिएकामा रु ५२ करोड मात्र संकलन भएको हो ।  यस्तै ढुङ्गा, गिट्टी, बालुवाको वातावरणीय प्रभाव मूल्याङ्कन ढिला हुँदा राजस्वमा केही कमी आएको हो ।

अर्यालले सम्पत्ति कर लक्ष्यभन्दा दोब्बर उठेको बताए । रु आठ करोड ७८ लाख लक्ष्य रहेकामा रु १५ करोड ८० लाख राजस्व संकलन भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले व्यवसाय बन्द भएका कारण ती क्षेत्रको राजस्व घटेको र घर बन्ने क्रम घटेकाले नक्सापास कम भएको बताए । सिफारिस र दस्तुर शुल्क किन घट्यो खोजी भइरहेको उनले बताए । सम्पत्ति करको दायरामा महानगरवासी आएकाले लक्ष्यको दोब्बर बढेको उनी बताउँछन् ।

त्यसैगरी, खर्च अघिल्लो आवको तुलनामा करिब १२ प्रतिशत बढाउन सकिएको उनले बताए । पुँजीगत खर्च रु एक अर्ब ६८ करोड १५ लाख २३ हजार भएको छ । यो लक्ष्यको ६१ दशमलब ७१ प्रतिशत हो । अघिल्लो आवमा ५० दशमलव ४३ प्रतिशतमात्र पुँजीगत खर्च भएको थियो । त्यस वर्ष रु एक अर्ब ८६ करोड ७७ लाख ४७ हजार खर्च भएको थियो ।

पौडेलका अनुसार संघ र प्रदेशबाट प्रशासनिक भवन र रङ्गशालालाई प्राप्त बजेटलाई पुँजीगत खर्चमा समावेश गरिएको छैन । यसलाई समेत समावेश गर्दा ७० प्रतिशत प्रगति हुन आउने पौडेल बताउँछन् । उनले भने, ‘हामीले गत आवको सुरुआतदेखि नै गरेको निरन्तरको मेहेनतका कारण पुँजीगत खर्च बढेको हो । तर अझै हामी सन्तुष्ट छैनाै‌ ।’

महानगरपालिकाका कार्यवहाक नगर प्रमुख चित्रसेन अधिकारीले समयमा नै प्राविधिकहरूलाई कार्यक्षेत्र बाँटफाँट गरी लागत अनुमान तयार गरेर पेस गर्न निर्देशन दिइएका कारण काम समयमा हुनसकेको बताए । खरिद प्रक्रिया समयमा गर्ने, नगर प्रमुख, आफू र प्रमुख प्रशासकीय अधिकृतले नियमित अनुगमन र आवश्यक निर्देशन दिनेलगायतका कारण पुँजीगत खर्च बढाउन सकिएको बताए । उनले भने, ‘जे गरिएको छ, राम्रो भएको छ, अझै पुगेको छैन ।’

मालपोतको रजिष्ट्रेसनमा कमी आएको, नदीजन्य पदार्थको समयमा बोलकबोलको काम गर्न नसकेको र घरबहाल कर लक्ष्यअनुसार उठाउन नसकेका कारण राजस्व बढेर पनि लक्ष्यमा पुर्‍याउन नसकेको बताए । आर्थिक मन्दीका कारण पनि राजस्वमा कमी आएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७