सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा एक मजदुरको मृत्यु, तीन जना बेहोस


२०८२ असार ३२ बुधबार २१:४८ बजे

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सहकारी संस्था भवनको सेप्टिक ट्याङ्कीको सर्टिङ खोल्ने क्रममा निसासिएर एक जना मजदुरको मृत्यु भएको छ ।

फाल्गुनन्द –५ स्थित घुर्विसे पञ्चमी सहकारी संस्था निर्माणाधीन भवनको सेप्टिक ट्याङ्की ढलानका क्रममा प्रयोग गरिएका काठ बाँस झिक्न जाँदा निसासिएर ३८ वर्षीय रत्न चेम्जोङको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनीहरु बुधबार साँझ करिब साढे ५ बजेतिर अचेत अवस्थामा भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरिक्षक) रुपेश तामाङका अनुसार घटनामा २४ वर्षीय भीष्म चेम्जोङ, ४० वर्षीय बीरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङ बेहोस भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल पुर्‍याइएको छ ।

उद्धारपछि थप उपचारका क्रममा इलाम पुर्‍याउँदा रत्नलाई त्यहाँकै चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक रत्नसहित भीष्म र बीरु सेप्टिक ट्याङ्की खोल्न खटिएका मजदुर थिए भने संगीत उनीहरुको उद्धारका लागि खाल्डोमा जाँदा बेहोस भएका थिए । उनको भने होश खुलेको बताइएको छ ।

श्रमिक बेहोस भएको सूचनापछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर राईसहितका प्रहरी र स्थानीयले उद्धार गरेका हुन् । सुरक्षाकर्मी र स्थानीयको प्रयासले उद्धार सम्भव नभएपछि एक्स्काभेटर प्रयोग गरेर बाटो बनाउँदै उद्वार गरिएको राईले जानकारी दिए । करिब १० मिटर उचाइको सेप्टिक ट्याङ्कीमा अक्सिजनको मात्रा कम भएर उनीहरु बेहोस भएको उद्धारमा खटेका प्रहरी सहायक निरीक्षक राईको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७