सभापति थापाको टिप्पणी : विद्यालय शिक्षा विधेयक ‘शिक्षक विधेयक’ जस्तै भयो

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हाबी भएको कारण अवस्था शैक्षिक अस्तव्यस्त बनेको बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको खाका नबनाई सरकारले अन्धाधुन्द निर्णय गर्दै आएको आरोप लगाए ।
उनले आवेदनकै आधारमा समदायमा विद्यालयको संख्या थप्ने सरकारको निर्णयले पनि शिक्षामा गुणस्तर आउन नसकेको बताए । उनले शिक्षा, स्वास्थ्य र देश विकासमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न नहुनेमा जोड दिए ।उनले मुलुकको समग्र विद्यालय शिक्षा प्रणालीमा सुधार ल्याउनको लागि विद्यालय शिक्षा विधेयक अघि सारेको पनि बताए । उनले पछिल्लो समय शिक्षा विधेयक शिक्षक विधेयक जस्तो बन्दै गएको टिप्पणी पनि गरे । शिक्षकहरुलाई विद्यार्थीप्रति उत्तरदायी बनाउन सके मात्र शिक्षा क्षेत्रको सुधार हुने आफ्नो समितिको ठहर रहेको सभापति थापाको भनाइ छ ।