घुस काण्डबारे भूमिमन्त्रीको जवाफ : आरोपले डराउनेवाला छैन

 ‘जुन औंलामा बिख लाग्छ, त्यहि औंला झर्छ’


२०८२ असार ३० सोमबार १७:२७ बजे

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुसको अडियो काण्डमा आफ्नो नाम जोडिएकोबारे संसदमा जवाफ दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै उनले जनताको काम गर्ने कुरामा आफू नडराउने मन्त्री अधिकारीले बताएका छन् । उनले आफूले गलत काम गरेको भए तथ्य देखाउन चुनौती समेत दिए ।

प्रश्नोत्तर कार्यक्रममा नेकपा माओवादीका सांसद माधव सापकोटाले अधिकारीमाथि प्रश्न गरेका थिए । जवाफमा उनले आफू र आफ्नो मन्त्रालयसँग जोडिएको वा वा आयोगको अध्यक्ष चयन गर्ने सम्बन्धमा कतै आफू पनि जोडिएको पाए तथ्य ल्याउन चुनौती दिए ।  ‘मैले अघि पनि भनेको छु, आयोग वा आयोगका कुनै पनि सदस्यहरू बनाउने सन्दर्भमा म मात्रै होइन, मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीं कतै त्यस्तो कारोबार र डिलहरू गरेका रहेछन् भने यहाँहरूले यथार्थता ल्याइदिनुस्, त्यसको निम्ति कानुनी कारबाही भोग्न तयार छौँ,’ उनले भने, ‘तर अनावश्यक रूपमा हल्ला गरेर कसैको चरित्रहत्या गर्ने र कसैलाई बदनाम गराएर काममा अवरोध गर्ने काममा यहाँहरू नलाग्नको लागि मैले अनुरोध गर्न चाहन्छु ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले २०८१ पुसमा भूमि आयोगको अध्यक्ष बनाइदिन भन्दै २५ लाख र कर्मचारीको सरुवा रोक्न भन्दै ५३ लाख घुस लिएको अडियो सार्वजनिक भएको थियो । जुन अडियोमा मन्त्री गुप्ताले मन्त्री अधिकारीको समेत नाम लिएका छन् । यही विषयले संसद् तातेको छ । एमालेकै सांसदहरूले घुस प्रकरणमा मुछिएका मन्त्री बर्खास्त गर्न माग गरेका छन् । तर, मन्त्री अधिकारी जसले गल्ती गरेको छ उसैले सजाय भोग्ने बताउँछन् । अहिले आएका कुराबारे आफूले जवाफ खोज्न आवश्यक समेत नठानेको उनले बताएका छन् ।

‘जहाँसम्म किन अहिलेसम्म आएन भन्ने कुरा हो, कसैले कुनै चौरमा कुरा गर्छ, कसैले कुनै घरमा कुरा गर्छ, हामीले त्यसको उत्तर खोजिरहनु पर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘सत्य सत्य नै हुन्छ । त्यसकारण जुन औंलामा बिख लाग्छ, त्यहि औंलो झर्छ, यहाँहरूले त्यो कुरालाई बुझ्नु नै हुनेछ ।’ ‘नेपाल सरकारमा बसेर, जनताको काम गर्ने जिम्मेवारी लिएर जनताको काम गर्ने हो, नमिलेका कानुन मिलाउने हो,’ उनले भने, ‘जनताका समस्या हल गर्ने कुरामा कुनै आरोप आए पनि म डराउनेवाला छैन र मैले विधिसम्मत काम गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७