विद्या भण्डारीको पक्षमा बोलेका युवा संघ लुम्बिनी अध्यक्षलाई सोधियो स्पष्टिकरण

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा वकालत थालेका राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टिकरण सोधिएको छ ।
संघका केन्द्रीय महासचिव महेश चौलागाईँले तीन दिनभित्र स–शरीर स्पष्टिकरण बुझाउन निर्देशन दिएका हुन् । ‘… धारा ४१ र धारा ४२ (क) र (ख) बमोजिम कारबाही किन नगर्ने वा गर्नु नपर्ने ? त्यसबारेमा आजका मितिबाट तीनदिन भित्र भौतिक रुपमा उपस्थित भई स्पष्टिकरण पेश गर्न हुन निर्देशन गरिन्छ’, चौलागाईँले पठाएको पत्रमा भनिएको छ ।
लुम्बिनी अध्यक्ष खरेललाई १० औं महाधिवेशनमा प्रतिनिधिहरु धम्काएको, र सामाजिक सञ्जालमा पार्टी नेतृत्वबारे लाञ्छना लगाउने काम गरेको आरोप लगाइएको छ ।
स्पष्टिकरणको जवाफ पनि खरेलले पठाइसकेका छन् । जवाफमा खरेलले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका छन् ।
‘मतदान प्रक्रिया चलिरहँदा म आफू अध्यक्ष पदका उम्मेद्वार क.सुमन पुरीको प्रतिनिधि रही जिम्मेवारी बहन गर्ने क्रममा त्यहाँभित्र देखिएका केही गतिविधि लोकतान्त्रिक थिएनन्, त्यसै सिलसिलामा मबाट भएका केही प्रतिवादलाई लिएर लगाइएको गम्भीर आरोप आधारहीन मात्र छैन, कपोकल्पित रहेको महसुश गरेको छु’, खरेलले स्पष्टिकरणमा लेखेका छन् ।
सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत् उठाउनुलाई खरेलले लोकतान्त्रिक अभ्यास भनेका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई एमाले अध्यक्ष बनाउनुपर्ने पक्षमा खुलेका खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै आएका छन् ।
उनले सामाजिक सञ्जालमा पनि यस्तै भाषामा स्टाटस लेखेका छन् । ओलीसँगै उभिएको तस्वीर राख्दै खरेलले केही दिन अगाडि लेखेका छन्, ‘… पार्टीको माया छ, र पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ । अब मार्गप्रशस्त तपाईले गर्नुपर्छ– जनता बोलिरहेका छन्, सुन्नुहोस् ।’