कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउने

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ । १६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुनः प्रतिबद्धतासहितको निर्णय गरेको छ ।
‘नेपाली कांग्रेसको असार १६ देखि २३ गतेसम्म भएको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै यसका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्दछ,’ महामन्त्री शर्माले निर्णय सुनाउँदै भने । त्यस्तै कांग्रेसले यसका लागि संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्ने र सरोकारवालासँग परामर्श लिने निर्णय पनि गरेको छ ।
शर्माले निर्णयबारे थप भने, ‘संविधान संशोधनका लागि नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्दछ र नागरिक समाज र सरोकारवालाहरूसँग पनि परामर्श गर्नेछ ।’ सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख थियो ।
बैठकको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयन प्रमुख दायित्व र जिम्मेवारी हाम्रो नै हो भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध छ।’ संविधान संशोधनका विषयलाई अघि बढाउन पार्टीबाट कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ ।
उक्त कार्यदलले गर्ने कार्यबारे निर्णयमा भनिएको छ, ‘कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने छ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गर्नुभएका विज्ञहरू, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ ।’ सात बुँदे सहमति बमोजिम बन्ने संयुक्त कार्यदलमा समेत रहेर यही कार्यदलले कांग्रेसका तर्फबाट काम गर्नेछ।