अमेरिकाको टेक्सासमा भिषण बाढी : कम्तीमा २४ जनाको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौँ । अमेरिकाको टेक्सासमा भिषण वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म २४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
वर्षापछिको बाढीले टेक्सासको केर काउन्टी क्षेत्र तहसनहस बनाएको छ । बाढीमा अझै कम्तिमा २५ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको टेक्सासका गभर्नर ग्रेग अब्बटलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बाढीग्रस्त क्षेत्रमा विभिन्न विद्यालयहरूले गर्मी याममा सञ्चालन गर्ने शिविरमा क्याम्प मिस्टिकमा यो साता ७०० छात्राहरू सहभागी थिए ।
बाढीमा परेका २३७ जनाको उद्धार भइसकेको बिबिसीले जनाएको छ । सो क्षेत्र भएर बग्ने ग्वाडलुप नदीको जलसतह बढेर ७.९ मिटर पुगेको थियो । बाढी आएपछि उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।टेक्सासका गभर्नर अब्बटले रातिको समयमा पनि उद्धार कार्य जारी रहने बताएका छन् । बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर र ड्रोन परिचालन गरिएको छ । उनले राज्यभरि आपतकाल घोषणा गरेका छन् । बाढीले जनधनको ठूलो क्षति गरेपछि टेक्सासमा स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएका समारोह रद्द गरिएको छ ।