युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा


०५:३८ बजे

काठमाडौं । तत्कालीन नेसनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध नौं करोड ९ लाख ५३ हजार ७ सय ९ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरेको हो ।

नक्कली भारतीय नोटको कारोबार र विदेशी मुद्रा तस्करी, लागूऔषध कारोबारबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेर टेलिभिजन सञ्चालनदेखि जग्गा÷जमिन खरिद–बिक्री लगायतमा लगानी गरेको अभियोगमा उनलाई प्रतिवादी बनाइएको हो । यसैगरी नेसनल टेलिभिजनका तत्कालीन सञ्चालक भुवनेश्वरप्रसाद कुशवाहलाई ५ करोड २ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर (बिगोको हकमा मात्रै) मुद्दा दायर गरिएको छ । गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि अन्सारीकी पत्नी सलमा खातुन र अर्मी महिला प्रमिला अधिकारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

अन्सारी र उनकी पत्नीका नाममा राखिएका स्रोत नखुलेको घरजग्गा पनि जफत गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ । यसमध्ये अन्सारीको परिवारका नाममा पर्सामा भेटिएको २ बिघा, १३ कठ्ठा ८ धुर जग्गा पनि जफत गर्न मागदाबी लिइएको छ । अन्सारीका नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई, प्रभू, सानिमा र माछापुच्छ्रे बैंकमा रहेको १५ लाख ५० हजार २ सय ९ रुपैयाँ नगद पनि जफत गर्नुपर्ने अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।

अन्सारी भारतीय जाली नोटको ओसारपसारमा संलग्न रहेको अभियोगमा ६ वर्ष कैद सजाय भुक्तान गरी १७ जेठ २०८२ मा ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै सीआईबीले पक्राउ गरी उनीविरुद्ध सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान गरेको थियो । अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।

तेस्रोपटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे । १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परे । कारागारबाट छुट्नु अघिका दुईपटक पक्राउ पछि क्रमशः ११ चैत २०७० र ७ साउन २०७६ मा उनीविरुद्ध खोटा चलन र संगठित अपराध तथा विदेशी मुद्राको अवैध कारोबार र संगठित अपराध अभियोगमा मुद्दा परेकामा त्यसपछि निरन्तर कारागारमा रहेका थिए । खोटा चलन मुद्दाबाहेक संगठित अपराध र लागूऔषध तस्करीमा भने उनले अदालतबाट सफाइ पाएका थिए । पछिल्लो पटक कारागारबाट छुट्नुअघि भने सीआईबीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको थियो ।

हिरासतबाहिर राख्दा अन्सारीमाथि ‘सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको भन्दै सीआईबीले उनलाई कारागारबाटै नियन्त्रणमा लिएको थियो । अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका थिए । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेला पनि अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २६ फागुन २०६७ मा गोली हानी हत्या प्रयास गरेका थिए  । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७