नक्सालमा जनकपुरे माछा


१६:१२ बजे

–सिबी अधिकारी
काठमाडौं । ‘म नेपालभित्र तराईको खाना र नेपाल बाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो’, मंगलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’ को उद्घाटनका क्रममा बिबिसी मास्टर सेफ सन्तोष साहले भने । 

साहले भने जस्तै उनी जनकपुरदेखि काठमाडौँसम्म मिथिला खानाको प्रचारप्रसार एवं प्रवर्द्धन गर्दै आएका छन् भने देशबाहिर विभिन्न प्रकारका नेपाली खाना प्रवर्द्धन गर्दैछन् । देशबाहिर अमेरिकादेखि यूरोप, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार प्रवर्द्धन गरिरहेका छन् । पछिल्लो समय उनले विभिन्न देशमा पप–अप शो आयोजना गर्दै आएका छन् । जसमा अधिकतम २० देखि २२ जना मात्रै सहभागी छन् भने साहले १७ कोर्ससम्मको परिकार पस्कन्छन् । उनको यो पप–अप शो अहिले विश्वका विभिन्न देशमा माग आइरहेको छ ।

त्यसैगरी स्वदेशमा भने मिथिला थालीको प्रचारप्रसारमा काम गरिरहेका छन् । एक वर्षअघि काठमाडौँबासीलाई मिथिला परिकार खुवाउने उद्देश्यले लतिलपुरको झम्सिखेलमा ‘मिथिला थाली’ रेष्टुरेन्ट सुरु गरेका साहले त्यसपछि नक्साल र गौशालामा आउटलेट विस्तार गरेका थिए । राजधानीबासीलाई मिथिला थालीको स्वाद चखाएपछि उनले यतिबेला जनकपुरको स्वाद झल्कने माछाका परिकार ल्याएका छन् । साहका शब्दमा यो प्रयास ‘क्रस प्रमोसन’ को एउटा अंश हो।

नक्सालको मिथिला थाली रेष्टुरेन्टमा सुरु गरिएको ‘जनकपुर फिस हाउस’मा माछाका परिकारमा जनकपुरको स्वाद पाउन सकिने उनको दाबी छ । ‘माछा पकाउने शैली र स्वाद दुरुस्तै ल्याउने प्रयास गरेका छौँ, यसले उहाँहरुलाई जनकपुरे माछाको तलतल मेटाउने छ’, उनले भने । मङ्गलबार साँझ जनकपुर फिस हाउसमा उपस्थित विभिन्न क्षेत्रका पाहुनालाई सेफ आफैले पकाएर खुवाउँदै थिए । उनका अनुसार यहाँ माछाका विभिन्न परिकारको खान पाइन्छ । उपस्थित पाहुनाले माछाको स्वाद निकै मीठो भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले माछाका पारखीका लागि नक्सालको जनकपुर फिस हाउस प्रमुख गन्तव्य बन्नेमा विश्वास व्यक्त गरे ।

जनकपुरमा जस्तै मोटो तावामा, सर्सिउँको तेलमा तारेको माछालाई धेरैले मन पराउनेमा सेफ साह विश्वस्त छन् । फिस हाउसमा ओपन किचन हुनेछ । सेफ सन्तोषको यो काममा उनका दाजु सेफ दिलीपले साथ दिएका छन् । सन्तोषलाई हस्पिटालिटी क्षेत्रमा भित्र्याउने दिलीपसँग नेपाल, भारत र मध्य अमेरिकाका हस्पिटालिटी क्षेत्रमा काम गरेको साढे तीन दशक लामो अनुभव छ ।

सेफ दिलीपका भन्छन्, ‘जसरी काठमाडौँमा किलोमा सेकुवा खाने प्रचलन छ, त्यसरी नै माछाको मात्र प्रचलन गर्ने उद्देश्यले यो रेस्टुराँ खोलिएको हो, जनकपुरमा जसरी माछा खाने परम्परा छ, त्यो स्वाद र अनुभव यहाँ ल्याउने हाम्रो प्रयास हो ।’ उनका अनुसार फिस हाउसमा करिब दश प्रकारका माछाका परिकार पाइनेछ । स्पेशल तावा फिस, सानो जनकपुरी मुरी र मुलाको अचारसँगै चाख्न पाइनेछ । ट्राउट, झिँगे माछा, फिस चिली, फिस सेट जस्ता परिकारहरू पनि उपलब्ध छन् । सबै परिकारहरू जनकपुर र मिथिलाको पारम्परिक स्वाद र शैलीमा तयार पारिन्छन् ।

जनकपुर फिस हाउसमा पेय पदार्थ पनि सुलभ मूल्यमै उपलब्ध गराइएको सेफ सन्तोष साहको भनाइ छ । यसअघि सेफ शाहको ‘मिथिला थाली’ देशभर निकै लोकप्रिय बनिसकेको छ । मिथिला थालीको शाखा जनकपुरसँगै काठमाडौँको नक्साल गैरीधारा, गौशाला र झम्सिखेलमा विस्तारित छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७