अब ओली सरकार धेरै टिक्दैन, राजनीतिक वैधता सकियो : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको वैधता राजनीतिक रुपमा सकिएको जिकिर गरेको छ । जनताको मनमस्तिष्कबाट पनि सरकार विस्थापित भइसकेको माओवादीको भनाइ छ। माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरू सरकार ढाल्ने खेलमा नरहेको दोहोर्याएका छन्।
पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो सरकार सबै कोणबाट असफल भइसकेको दावी गरे।उनले भने, ‘हामी त यही सरकार नै चलिरहोस् भन्नेमा छौं । सरकार ढाल्न हामी लागेका छैनौँ, जनताप्रति नै छौं । तर सानेपामा पनि गरमागरम बहस चलिरहेको छ । त्यहाँ पनि उकुसमुकुस छ । सत्तापक्षका सांसदहरूको अभिव्यक्ति तपाईहरूले सुनिरहनु भएको छ । कांग्रेसमा ठूलो अन्तर्विरोध छ, कांग्रेसको नेतृत्वले पनि पार्टीभित्रको आक्रोशलाई थाप्न सक्दैन । म मिति त किटान गर्दिनँ, तर यो सरकार धेरै दिन टिक्दैन ।’
उनले कांग्रेस र एमालेभित्रको अन्तर्विरोधको सूचना आफूहरूलाई आइरहेको बताए। उनले एमालेभित्र पनि आन्तरिक लोकतन्त्र समाप्त भइसकेकाले विष्फोटनको चरणमा पुगिसकेको बताएका छन्। वर्तमान सरकारले सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ । प्रवक्ता सापकोटाले भने, ‘वर्तमान सरकार दिनदिन विस्थापित हुँदैछ, कलंकको रूपमा स्थापित हुँदैछ ।’