पूर्व राष्ट्रपति भण्डारीबाट आजैबाट सरकारी सेवा सुविधा फिर्ता

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजै (बुधबार) बाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेपछि भण्डारीले सो निर्णय गरेकी हुन् ।
पूर्व राष्ट्रपति भण्डारीले सरकारले पूर्व राष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् ।
भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीले प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए । तर, आजकै मितिबाट उनले सो सुविधा पाउने छैनन् ।
त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ । पूर्व राष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।