भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । नेपाल अपराजित रहँदै एसीसी मेन्स यू–१६ इस्ट जोन कपको सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । लिग चरणमा नेपालले यसअघि सिंगापुर, जापान तथा इण्डोनेसियालाई हराएको थियो । नेपाल चारै खेलमा विजयी भएको हो । नेपाल रहेको समूहबाट सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रनमात्र बनाउन सक्यो । भुटानका एकजना रिटायर्टहर्ट भएका थिए ।
भुटानलाई सस्तैमा समेट्ने क्रममा विपिन शर्माले आफ्नो १० ओभरमा मात्र ७ रन दिएर ४ विकेट लिए । सुयोग भट्टराई र सचिन भट्टले दुई–दुई विकेट झारे । यसअघि पहिला ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवले १६८ रनको मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो । रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको पारी खेले । जोए थापाले ६१ र शिवान्शं बजगाईंले ५४ रन बनाए । भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए । नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्र सहभागी छन् । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।