‘कुलिङ पिरियड’ : मन्त्री गुप्ताको आशंका खतिवडातर्फ, छानविनका लागि गरे आग्रह
‘हामीलाई पत्तै नदिई सभापति खतिवडाले प्रतिवेदन हाउसमा पेस गर्नुभयो’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै मन्त्री गुप्ताले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ को उद्देश्य र आशय नै उल्ट्याउनेगरी अनधिकृत ढङ्गबाट भएको हेरफेरप्रति आक्रोश व्यक्त गर्दै मन्त्री गुप्ताले भने, ‘यो त सार्वभौम संसदकै अपमान भयो, यो सामान्य घटना होइन । संसदले छानबिन गरी दोषीलाई तत्काल कारबाही गरोस् ।’
राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकको प्रतिवेदन संसदमा लैजाने क्रममा हेरफेर भएको हुनसक्ने मन्त्री गुप्ताको आशंका छ । ‘समितिबाट पारित भएको विधेयकलाई म र समितिका सभापति माननीय रामहरि खतिवडासहित माननीय ज्यूहरू रघुजी पन्त, दीलेन्द्र प्रसाद बढु, लिलानाथ श्रेष्ठलगायतले मेरै मन्त्रालयमा बसेर असार २ गते हेर्ने अनि संसदमा प्रतिवेदन पेस गर्ने तयारी गरेका थियौं । तर माननीय सभापतिजीले हामीलाई पत्तै नदिई असार १ गते नै प्रतिवेदन हाउसमा पेस गर्नुभयो । त्यहींनेर समस्या सिर्जना भएको जस्तो लाग्दैछ,’ उनले भने ।
मन्त्रीलाई नै झुक्क्याएर प्रतिवेदन पेस गरिनु गम्भीर आशंकाको विषय भएको मन्त्री गुप्ताले बताएका छन् । व्यापक छलफलपछि गत जेठ २ गते बसेको राज्य व्यवस्था समितिको ७३औँ बैठकले सर्वसम्मतरूपमा सो विधेयक पारित गरेको थियो । लामो कसरतपछि निर्माण गरिएको संघीय निजामती सेवा विधेयक जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी गरिए पनि नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत प्रतिपक्ष दलहरूले संसद अवरोध गरेका कारण अगाडि बढ्न पाएको थिएन ।