काठमाडौंसहित आज २५ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । काठमाडौंसहित आज देशका २५ जिल्लामा बाढी–पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा र बैतडीमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ताप्लेजुङ्ग, तेह्रथुम, भोजपुर, खोटाङ, जाजरकोटमा बाढीको सामान्य जोखिम छ । कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरु साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जल सतह सतर्कता तह तलै रहे पनि बढ्न सक्ने भएकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज डडेलधुरा, नेपालगञ्ज, दाङ, पोखरा, काठमाण्डौ, जिरी, विराटनगर लगायतका शहरमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ । अरू ठाउँमा भने सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।