मुकुल ढकालको रिट न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा

काठमाडौं । आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री रहेको दावीसहित डा. मुकुल ढकालले दायर गरेको रिट आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ । यो मुद्दामा गएको बिहीबार (असार १२) सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ जारी गरेको थियो । त्यसको अघिल्लो दिन अर्थात् असार ११ गते दायर रिटमा ढकालले आफूले रास्वपाको महामन्त्रीको जिम्मेवारी सम्हाल्न पाउने गरी आदेश माग गरेका छन् । सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका निम्ति दुवै पक्षलाई आज बोलाएको हो ।
संस्थापक महामन्त्री ढकाललाई रास्वपाले गत वर्ष देशभर घुमेर बनाएको रिपोर्ट बुझाएपछि सार्वजनिक गरेर अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीविरुद्ध उनी निर्वाचन आयोगमा न्याय माग्न गएका थिए । उनलाई हटाएर नयाँ कार्यसमितिको कुनै जानकारी नरहेको भन्दै आयोगले पत्र दिएको थियो । त्यसपछि ढकालले महामन्त्रीको हैसियतमा बैठक बोलाउन रास्वपामा निवेदन दिएका थिए । तर, रास्वपाले आयोगलाई गत वर्ष नै जानकारी गराएको भन्दै उनलाई महामन्त्री स्वीकार नगर्ने संकेत दिएको थियो । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।