ट्रम्पको चेतावनी : इरानमा फेरि बम हान्न सक्छौं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा फेरि बम हमला गर्न सकिने चेतावनी दिएका छन् । शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले परमाणु हतियार बनाउने गरी युरेनियम प्रशोधन गरेको भेटिए इरानमा अमेरिकाले पुनः बम खसाल्ने चेतावनी दिए ।
ट्रम्पले इरानमाथिको प्रतिबन्ध हटाउने योजना र छलफलहरू तत्कालका लागि रोकिएको पनि बताएका छन्। इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा अमेरिकाले गोप्य ढंगबाट प्रस्ताव लगेको भन्ने समाचारहरू सार्वजनिक भएको थियो । तर इरान परमाणु कार्यक्रम रोक्ने सन्दर्भमा वार्ता गर्न तयार नभएकाले ऊमाथिको प्रतिबन्ध हटाउने योजना तत्कालका लागि रोकिएको ट्रम्पले बताएका छन् ।
ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले इरानले युरेनियम प्रशोधनलाई निरन्तरता दिएको पुष्टि भए अमेरिकाले फेरि आक्रमण गर्छ ? भनेर प्रश्न गरे । ‘अवश्य गर्छौं । यसमा कुनै शंका छैन, शंका गर्नुपर्ने विषय पनि होइन’ ट्रम्पले भने ।
ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले युद्धविराम भएपछि पहिलो पटक दिएको अभिव्यक्तिको जबाफ आफ्नो ट्रुथ सोसल अकाउन्टबाट दिएका छन् । खामेनीले त्यतिबेला इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा धावा बोलेर इरानले अमेरिकालाई गतिलो झापड दिएको बताएका थिए । जबाफमा ट्रम्पले खामेनीलाई आफूले बचाएको दाबी गरे । ‘हामीले उनीहरुको तीन भयानक स्थानहरू नष्ट गर्यौं । स्वयम् खामेनी कहाँ लुकेका छन् भन्ने पनि थाहा थियो त इजराइल र विश्वकै सबैभन्दा शक्तिशाली अमेरिकी सेनालाई उनको हत्या गर्नबाट रोकें,’ ट्रम्पले भने । इसराइल–इरान युद्धविराम भए पनि इरानसँग परमाणु कार्यक्रमबारे वार्ता र सहमति प्रक्रिया अगाडि बढेको छैन ।