किसानको प्रगति विना देशको विकास सम्भव छैन : नेता सिटौला

झापा । सत्तारुढ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताएका छन्। नेपाल किसान महासंघ झापाले आज हल्दीबारीमा आयोजना गरेको धान महोत्सवमा उनले संविधानले किसानका विषयलाई प्राथमिकता दिएकाले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर सहज बनाउने किसिमका योजना ल्याउनु पर्ने बताए ।
नेता सिटौलाले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको उल्लेख गर्दै राज्यको अनुदान वास्तविक किसानसम्म पुर्याउनुपर्ने बताए । किसानलाई समयमै बिउ, मल र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता राज्यले गराउनु पर्ने उनको भनाइ छ । नेपाल किसान महासंघका जिल्ला अध्यक्ष रतन सुब्बाले मल अभाव, चैते धानको मूल्य नपाएकोलगायत किसानका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै नेता सिटौलालाई ज्ञापनपत्र बुझाए ।