ट्याक्टर पल्टिँएर च्याप्दा दुई किशोरको घटनास्थलमै मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८ बगहीमा शुक्रबार दिउँसो ट्याक्टर पल्टिएर च्यापिँदा दुई किशोरको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बगही गाउँकै पन्ना पटेलका छोरा १७ वर्षीय आकाश पटेल र राजेश पटेलका छोरा अन्दाजी १७ वर्षीय गोलु पटेल रहेका छन् ।
दुर्घटनामा वीरगज–२८ मै पर्ने इनर्वा गाँउका अन्दाजी १८-१९ वर्षका जयकुमार मण्डल घाइते भएका छन्ञ्। वडाध्यक्ष सुर्युग महतो धानुकका अनुसार भेडाहा खोलाबाट माटो लिएर बगगी गाउँको खेततर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर शुक्रबार दिउँसो २ बजेतिर अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको हो । आफैं अनियन्त्रित भइ खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र उनीसँगै सवार रहेका गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए ।
घाइते जयकुमारको भने उपचार भइरहेको उनले बताए । दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले मृतक दुवै किशोर शव मुचुल्का उठाएर पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाएको तथा घटनाबारे अनुसन्धान गरिरहेको भट्टले बताए ।